शिक्षा पत्रकार समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय गरेको छ।
समूहको (२१ साउन, ०७७) मा बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको हो।
बैठकले प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दिपेन्द्र सिंह (जनकपुर), बागमती प्रदेशमा ध्रुब अधिकारी (हेटौंडा), गण्डकी प्रदेशमा केशवशरण लामिछाने (पोखरा), प्रदेश ५ मा मनोज पौडेल (कपिलवस्तु), कर्णाली प्रदेशमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी)लाई संयोजक चयन गरेको छ।
प्रदेश कमिटीलाई प्रक्रियागत ढंगले पूर्णता दिइने कार्यसमिति बैठकले निर्णय गरेको छ।
२०७६ फागुन ५ मा सम्पन्न २० औं साधारणसभाले समूहलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न पूर्वअध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो।
त्यस्तै, बैठकले शिक्षा विटमा कार्यरत/काम गर्न इच्छुक युवा एवं ऊर्जावान पत्रकारहरूका लागि शिक्षा पत्रकार समूहको नयाँ सदस्यता पनि खुला गर्ने निर्णय गरेको छ।
कोभिड–१९ को महामारीले उत्पन्न गरेको प्रतिकुलताबीच शिक्षा पत्रकार समूहले हरेक सोमबारलाई शिक्षाबारका रुपमा गर्दै आएको समसामयिक शैक्षिक मुद्दा केन्द्रित भर्चुअल सम्बादलाई निरन्तरता दिने निर्णय गरेको छ।
शिपसले शिक्षा क्षेत्रका समसामयिक मुद्दा र असल अभ्यासबारे राष्ट्रिय, प्रादेशिक स्तरमा अन्तरक्रिया तथा लेखनवृत्ति कार्यक्रम गर्दैआएको छ।
कोभिड–१९ को महामारीमा नेपालको शैक्षिक क्षेत्र, असल अभ्यास र चुनौती दर्शाउने खोजमुलक रिपोर्टहरूको पुस्तक प्रकाशित गर्ने तयारी समेत समूहले गरेको छ ।