सप्तरीमा एकै दिन पाँच स्वास्थ्यकर्मी संक्रमित भएका छन्। स्वाथ्यकर्मी संक्रमित भएपछि गजेन्द्र नारायण सिंह अस्पतालको सेवा बन्द भएको छ।
संक्रमित स्वास्थ्यकर्मीहरुलाई आइसोलेसनमा भर्ना गरिएको र सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मी, कर्मचारीसहित २७ जना क्वारेन्टाइनमा बसेकाले सेवा नै बन्द गर्नु परेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिए।
आज दिनभर सेवा बन्द गरी स्वास्थ्यकर्मी व्यवस्थापनपछि भोलिबाट सेवा सुचारु गरिने तयारीमा रहेको उनले बताए। याे सँगै गजेन्द्र नारायण सिंह अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या नौ पुगेको छ।
यसअघि पाँच जना स्वास्थ्यकर्मीमध्ये दुई जना निको भएर घर फर्किसकेको मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए।
बिहीबार राति आएको रिपोर्टमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको इमर्जेन्सी वार्डका चार जना र छिन्नमस्ता अस्पतालका एक हेल्थ असिस्टेन्टसहित पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए।
सप्तरीमा बिहीबार १८ जना कोरोना संक्रमित भेटिएका थिए।