विराटनगरस्थित कोसी अस्पतालमा कोरोनासँग मिल्ने लक्षण देखिएका ५८ वर्षीय पुरूषको मृत्यु भएको छ।
विराटनगर-९ निवासी उनको शुक्रबार बिहान सवा नौ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।
'उहाँलाई बिहान ९ बजे अस्पताल ल्याइएको थियो तर उहाँको मृत्यु भइसकेको थियो,' उनले भने।
मृत्युपछि उनको कोरोना परीक्षणको लागि स्वाब पठाइएको डा. दासले जानकारी दिए।
अहिले उनको शव अस्पतालमै राखिएको छ।
मृतकका आफन्तले ती पुरूषमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या रहेको अस्पताललाई जानकारी गराएका छन्।
'उहाँको शंकास्पद केस भएकाले हामीले परीक्षण गर्न स्वाब पठाएका छौं। नतिजा आएपछि त्यही अनुसार उहाँको शव व्यवस्थापन हुन्छ,' डा. दासले भने।