कोरोना संक्रमितको मृत्यु भएपछि विराटनगरस्थित कोशी अस्पतालका डाक्टरमाथि हातपातको प्रयास भएको छ।
मृतकका आफन्तले आइसोलेसनमा खटिएका एक चिकित्सकमाथि हातपातको प्रयास गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।
विराटनगर-९ निवासी ४५ वर्षीय पुरुषको दिउँसो साढे एक बजेतिर मृत्यु भएपछि लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि कुटपिटको प्रयास गरेका हुन्।
'दुई जना महिलाहरू आइसोलेसनभित्रै छिरेर चिकित्सकमाथि झम्टिनुभएछ। पछि प्रहरीलाई खबर गरेर स्थिति सामान्य बानयौं,' डा. दासले भने।
ती पुरुषलाई मंगलबार बिहान साढे १० बजे कोशी अस्पताल भर्ना गरिएको थियो। डा. दासका अनुसार उनमा श्वासप्रश्वास समस्या, छाती दुख्ने, पखला लाग्नेजस्ता समस्या थिए।
साथै उनमा मधुमेह र जन्डिसको समस्या पनि रहेको दास बताउँछन्। 'उहाँलाई भर्ना गरेपछि हामीले आकस्मिक कक्षमा राखेर उपचार गर्यौं। कोरोना पुष्टि नभएकाले आवश्यक अरु उपचार गर्यौं' डा. दासले भने, 'तर उहाँको आज मृत्युपछि कोरोना पुष्टि भयो।'
अहिले ती पुरुषको शव अस्पतालमै राखिएको छ। आजै मोरङ रंगेलीका अर्का ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ। कोशी अस्पताल भर्ना गर्नुपूर्व नै मृत्यु भएको उनको पछि रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो। योसँगै मोरङका कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।