प्रदेश २ का मन्त्रालयको कर्मचारीहरू नै कोरोनाबाट संक्रमित भएपछि एक मन्त्रालयबाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको छ।
मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो।
आन्तरिक मामिला मन्त्रालयमा बुधबारमात्रै ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएपछि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालय बन्द गरिएको हो।
यद्यपि प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय भने अहिले पनि खुला नै रहेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ।
त्यस्तै, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधबार ताल्चा लगाइएको हो।
मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अतिश मिश्रका अनुसार मन्त्रालयहरूमै संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखेर कार्यालय बन्द गरिएको हो।
मिश्रले कन्ट्याक्ट ट्रेसिङलगायत कर्मचारीहरूको स्वाब संकलन गरी त्यसको रिपोर्ट आएपछि मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका कार्यालय खोलिने बताए।