वीरगञ्जको नारायणी अस्थायी अस्पताल गण्डकमा उपचाररत एक विरामी हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं आएका छन्।
नेकपाका नेतासमेत रहेका अरबिन्द सिंह श्वासप्रश्वासलगायत समस्या बढेपछि बुधबार एअर डाइनेष्टीको हेलिकप्टर चार्टर्ड गरी काठमाडौं आएका हुन्।उनको स्वाब परीक्षण गरिए पनि रिपोर्ट भने नेगेटिभ आएको छ।
हेलिकप्टरबाट काठमाडौं आएका सिंह सुरूमा त्रिवि शिक्षण अस्पताल पुगेका थिए। तर त्यहाँ बेड खाली नभएपछि अस्पतालले उनलाई पाटन अस्पताल पठाइदिएको छ।
‘उहाँ सवा चार बजे शिक्षण अस्पताल आउनुभएको थियो। बेड खाली नभएकोले हामीले उहाँलाई पाटन अस्पताल पठाएका छौं,’ शिक्षण अस्पतालका कोरोना फोकल पर्सन सन्तकुमार दासले सेतोपाटीसँग भने, ‘उहाँ गण्डक अस्पताल वीरगञ्जबाट आउनुभएको रहेछ। त्यहाँका चिकित्सकहरूसँग कुरा गर्दा उहाँमा निमोनियाको समस्या भन्नुभएको छ।’
गण्डक अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले अरबिन्द गत सोमबार अस्पतालमा भर्ना भएको जानकारी दिए।
‘उहाँलाई निमोनियाको पनि समस्या छ। इमरजेन्सीमा राखेर उपचार गरिएको हो,’ उनले भने, ‘उहाँले आफैं कोरोना परीक्षणका लागि स्वाब दिनुभएको रहेछ। हिजो रिपोर्ट आउँदा नेगेटिभ देखियो। त्यसपछि उहाँ यहाँबाट डिस्चार्ज मागेर प्रभु अस्पताल जानुभयो।’
प्रभु अस्पतालका मेडिकल डाइरेक्टर अभिषेक अर्यालले उनमा श्वासप्रश्वासमा थप समस्या देखिएपछि काठमाडाैं रिफर गरेकाे जानकारी दिए।
‘उहाँलाई अक्सिजनको कमी थियो, हिजोभन्दा आज स्वास्थ्यमा थप समस्या देखियो, त्यसैले यहाँबाट काठमाडौं रिफर गर्यौँ’ उनले भने।