शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ।
कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो।
जिल्लाका विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो। शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सातामा लाग्ने बजार भदौ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको बताए।
उनले भने,'कोरोनाको संक्रमण फैलन नदिन नगरका बढी भीडभाड हुने बजार र धार्मीक तथा पर्यटकीय स्थल बन्द गरिएको हो।'
समितिको निर्णयलाई अटेर गरेर जबरजस्ती गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने उनले बताए। सो ऐनमा १ महिना कारागार वा १ सय रुपैँया जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।
नगरका झिलझिले बजार सोमबार, दुधे बिहीबार, माईधार मंगलबार, शिवगञ्ज आइतबारका दिन बजार लाग्दै आएको थियो। साप्ताहिक बजार बन्द भएपनि स्थायी पसल भने खुल्ला हुने छन्। खोलिएका पसलमा सामाजिक दुरी कायम राख्नका लागि अनिवार्य गोलो घेरा बनाइनुपर्ने, विक्रेता र क्रेताले अनिवार्य माक्स लगाएको हुनुपर्ने, पसलमा सेनिटाईजर वा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हुनुपर्ने समितिले निर्णय गरेको छ।
कोरोना कोभिड-१९ रोकथाम तथा राहत कोष समन्वय समितिको बैठकले गरेको निर्णय अनुमोदनका लागि २२ गते बस्ने कार्यपालिका बोर्डले अनुमोदन गर्ने शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले बताए।
यस्तै नगरका धार्मिक तथा पर्यटकीय स्थलमा पनि स्थानीय प्रशासनले कडाइ गर्ने भएको छ। दोमुखा र सताक्षीधाममा सर्वसाधरणको आवत जावत बढेको भन्दै ईलाका प्रहरी कार्यालय झिलझिलेले त्यसलाई रोक्ने भएको छ।
दोमुखा र सताक्षीधाममा लकडाउन गरिएका पालिकाका स्थानीय बासिन्दाको आउने जाने क्रम बढेपछि प्रशासनले निगरानी बढाउने भएको हो।