आइताबार काठमाडौं उपत्यकाका ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका एकजना छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललिपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै काठमाडौंकै ८ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो।
नेपाल प्रहरी अस्पतालमा परीक्षण गर्दा काठमाडौंका २ र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंकै एकजनामा संक्रमण पुष्टि भएको हो।
यस्तै स्टार अस्पतालमा ललिपुरका ३ जना र टिचिङ अस्पतालमा ललितपुरकै एकजनाको पोजेटिभ आएको छ। नेपाल कोरिया अस्पतालमा गरिएको परीक्षणमा भने भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो समय उपत्यकामा दैनिक संक्रमण बढिरहेको छ। जसले गर्दा थप जोखिम बढेको छ। मन्त्रालयले आजै काठमाडौंमा ६० वर्षमाथि र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ।