बिहीबार काठमाडौं उपत्यकाका ४५ जना व्यक्तिमा कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
संक्रमितमध्ये ४१ जना काठमाडौंका छन्। त्यस्तै, ललितपुर र भक्तपुरका दुई-दुई जना छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १९ जना र भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा काठमाडौंका १३ जनामा संक्रमण पोजेटिभ देखियो।
टिचिङ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंकै ३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, स्टार अस्पतालमा गरिएको परीक्षणमा भने काठमाडौं र ललितपुरका दुई-दुई जनालाई संक्रमण पोजेटिभ देखिएको हो।
बिहीबार देशभर भने २ सय ७४ जनामा संक्रमण देखिएको छ। जसमा तीन जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
पछिल्लो मृत्यु हुने तीन जनामध्ये दुई जना पर्सा र एक जना मोरङका हुन्।