बागमती प्रहरी प्रदेश कार्यालयले घुस खाने चार जना प्रहरीलाई निलम्बन गरेको छ। बुधबार प्रदेशका विभिन्न जिल्लामा कार्यरत चार जना प्रहरीलाई निलम्बन गरेको प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए।
प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुले सवारी चालकसँग घुस लिएका थिए।
उनीरूलाई प्रदेश कार्यालयले सोमबार नियन्त्रणमा लिई छानबिन थालेको थियो। एसएसपी गिरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान गर्न निलम्बन गरिएकाे हो।
निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकास जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महताे र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्षमण कुमार महताे छन्।
उनीहरूमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ।