कैलालीमा बाढीमा बगेर चार जना बेपत्ता भएका छन् ।
भजनी नगरपालिकाको वडा नम्बर ८ मा नदीमा बगेका ६ जनामध्ये दुई जनाको उद्धार गरिएको छ भने बाँकी चार जना बेपत्ता भएका हुन्।
हुलाकी राजमार्ग कटान हुँदा आश्रय लिएर बसेका सोही ठाउँका ईश्वर शाह, चक्र विक, दिप्ती शाही र हेमन्त शाह बगेका थिए।
चक्र र दिप्ती रुखमा झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ भने अरु दुई जना हराएका कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
यस्तै, स्थानीय गौरी नालामा सुदूरपश्चिम प्रदेश २०–३००१ प ३५०६ नम्बरको मोटरसाइकलमा सवार एक जना तर्ने क्रममा बगेर बेपत्ता भएका छन्।
भजनी नगरपालिकाको वडा नम्बर ८ कै जनकपुरमा घर नजिकैको कुलोबाट बगेर ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको विष्टले बताए।
‘बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको छ’, उनले भने।
भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले वडा नम्बर-८ को पूरै बस्ती नै डुबानमा परेको बताए।
उनका अनुसार नगरपालिकाको अधिकांश भू-भागमा डुबान हुँदा एक हजार घरधुरीमा क्षति पुगेको छ।
बाढीबाट प्रभावित भएकाहरूलाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधि सहितका तीन टोली त्यहाँ पुगेका छन्।
प्रभावित कतिपय हुलाकी रोडमा बसेका छन् भने केहीलाई विद्यालयका भवनमा सारिएको छ।