गृह मन्त्रालय जान खोजेका 'इनफ इज इनफ' अभियानका पाँच जना अभियन्ताहरू पक्राउ परेका छन्।
बुधबार दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरू निषेधित क्षेत्रमा भेला भई भित्र प्रवेश गर्न खोजेपछि पक्राउ परेका हुन्।
'निषेधित क्षेत्रमा भेला भई सिंहदरबार प्रवेश गर्न लाग्दा पक्राउ परेका हुन्,' बस्नेतले भने,'उनीहरूलाई पुलिस क्लबमा लगिएको छ।'
अभियन्ताहरू गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ परेको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए।
'५ अभियन्ता साथीहरूलाई प्रहरीले गैरकानुनी हिसाबले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ। अभियन्ता साथीहरूले सोही स्थानबाट अनसनको घोषणा गर्नुभएको छ,'उनले ट्वीटरमा लेखेका छन्।
पक्राउ परेका अभियन्ताहरूले प्रहरीलाई नाम पनि नबताएको डिएसपी बस्नेतले जानकारी दिए।