खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा ज्यान गुमाएका इञ्जिनियर सतिस गोइत र बेपत्ता चालक राधाकृष्ण थापाका परिवारजनलाई राहत उपलब्ध गराउन पहल थालेकी छन्।
गत मंगलबार आयोजनाको हेलम्बु गाउँपालिका १ अम्बाथानस्थित १७ नम्बर गेटबाट पानी बाहिर आउँदा गोइतसहित चार जनालाई बगाएकोमा दुई जनाको उद्धार भएको थियो।
उद्धार गरिएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ।
प्रोगेसिभ इञ्जिनियरिङ एशोसिएसन नेपाल प्रदेश नम्बर २ का प्रतिनिधिमण्डलको आइतबार भएको भेटमा मन्त्री मगरले गोइतलगायतका परिवारजनलाई राहत उपलब्ध गराउन आयोजनालाई निर्देशन दिएकी हुन्।
एशोसिएसनले मृतक इञ्जिनियर र बेपत्ता चालकका परिवारजनलाई राहत उपलब्ध गराउन पहल गरिदिन मन्त्री मगरको ध्यानाकर्षण गराएका थिए।
इञ्जिनियर गोइतको शव मेलम्ची खोलामा फेला परेको थियाे। बेपत्ता चालककाे खोजी नेपाल प्रहरी र शशस्त्र प्रहरीले गरिरहेका छन्।
मन्त्री मगरले इञ्जिनियर गोइतका परिवारलाई उचित राहत र बीमालगायतका सुविधा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी हुन्।
उनले सिनो हाइड्रोलाई राहत उपलब्ध गराउने प्रक्रिया थाल्न निर्देशन दिएकी हुन्।