सडक निर्माणसँगै छेउछाउमा रोपिएका बिरूवाले हरियाली बनेको बेलहिया-बुटवल व्यापारिक मार्ग सडकबत्तीका कारण झिलिमिली बन्न थालेको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका ड्राइभरटोलदेखि कोटिहवासम्मको सडक डिभाइडरमा अहिले विद्युतीय सडक बत्ती जडान गरेर बाल्न सुरू गरिएको छ।
पहिलो चरणमा निर्माण सम्पन्न भएको सडकमा जडान गरेका सौर्यबत्ती टिकाउ नभएपछि पछि निर्माण गरिएको सडकमा सोलारबत्तीको स्थानमा विद्युतीय बत्ती जडान गरिएको हो।
सोही अन्तर्गत ड्राइभरटोलदेखि कोटिहवासम्मको सडक डिभाइडरमा दुवैतर्फको सडकमा देखिने गरी विद्युतीय बत्ती जडान गरी साउन १ गतेदेखि नै बाल्न सुरू गरिएको हो।
सडक बत्ती बाल्न सुरू गरेपछि ड्राइभरटोलदेखि कोटिहवासम्मको सडक दिउँसोमा हरियालीमात्र होइन रातिमा पनि झिलिमिली बनेको छ।
तिलोत्तमा नगरपालिकाको बुटवलतर्फको सीमाक्षेत्र योगिकुटीदेखि सिद्धार्थनगरतर्फको सीमाक्षेत्र कोटिहवासम्म १४ किलोमिटर ६ लेन सडकको डिभाइडर र दुवैतर्फको सर्भिसलेनमा विद्युतीय बत्ती जडान हुनेछ।
अहिले पहिलो चरणमा ड्राइभरटोलदेखि कोटिहवासम्मको १० किलोमिटर क्षेत्रमा जडान भएर बत्ती बाल्न सुरू गरिएको छ।
योगिकुटीदेखि ड्राइभरटोल सम्मको तीन किलोमिटर र कोटिहवातर्फको एक किलोमिटर सडक क्षेत्रमा पनि विद्युतीय बत्ती जडान गर्ने प्रक्रिया सुरू गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।
६ लेन सडक निर्माणको योजनामा सडकको डिभाइडरमा सौर्यबत्ती जडान गर्ने सम्झौता भए पनि यसअघि जडान गरिएका सौर्यबत्ती टिकाउ नभएपछि नगरपालिकाले विद्युत महसुल बुझाउने सम्झौता गरेपछि विद्युतीय बत्ती जडान गरिएका हुन्।
१४ किलोमिटर क्षेत्रमा बल्ने सडक बत्तीबाट विद्युत महशुलवापत मासिक ४ लाख रुपैयाँको हाराहारीमा महसुल बुझाउनुपर्ने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
‘सडकमा सोलार बत्ती जडान गरेर करोडौं रुपैयाँ खर्च गरिए पनि प्रभावकारी नभएपछि हामी आफैंले महसुल बुझाउने सम्झौता गरी विद्युतीय बत्ती जडान गरिएको हो’, नगरप्रमुख घिमिरेले भने।
सडक निर्माणको ठेक्का सम्झौतासँगै सडक सोलार बत्ती जडानको लागि डिजाइन गरिएको भए पनि सोही डिजाइन अनुरूप ४ करोड १४ लाख ७१ हजार ३ सय नब्बे रुपैयाँको लागतमा सोलार बत्तीको स्थानमा विद्युतीय बत्ती जडान गरिएको सडक आयोजनाले जनाएको छ।
व्यवस्थित बिजुली बत्तीको व्यवस्था भएपछि रातको समयमा पनि झिलिमिली सडकको रूपमा परिणत भएको छ।
अहिले डिभाइडरमा बत्ती बाल्न सुरू भएको छ भने सर्भिस लेनमा पनि बत्ती जडान गरी अन्तिम चरणमा पुगेको छ।
नगरप्रमुख घिमिरले रातिको समयमा यात्रा गर्दा सडकमा धेरै दुर्घटना निम्तिएकोले सडकबत्ती बाल्न सुरू गरेपछि दुर्घटना तथा अन्य अपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास व्यक्त गरे।
सडकको बीचमा रहेको मुख्य डिभाइडरमा प्रत्येक ३० मिटरको दूरीमा फलामे पोल गाडेर सडकको दुवैतर्फ उज्यालो दिनेगरी १ सय ५० वाटका २ सय ८८ वटा बल्ब जडान गरिएका छन्।
सर्भिस लेनमा भने दुवैतर्फ ४० वाटका ४ सय ९० वटा बल्ब राखिएका छन्।
सडक बत्ती जडानको ठेक्का सम्झौता गरेको नरेन्द्र पिएसएस जेभी काठमाडौंले दुई वर्षसम्म बत्ती तथा पोलको मर्मतसम्भारको जिम्मेवारी लिनेछ भने बत्तीको महसुल भने नगरपालिकाले भुक्तानी गर्ने सडक आयोजनाले जानकारी दिएको छ।
सर्भिस लेनमा बालिने बत्तीको महसुल भने सम्बन्धित टोल विकास संस्थाले बेहोर्ने नगरप्रमुख घिमिरेले जानकारी दिए।
डिभाइडरमा जडान गरिएका बत्तीले पनि सडक वारिपारि उज्यालो दिने भए पनि ग्रिनरी बेल्टमा लगाइएको बिरूवा हुर्कंदै जाँदा सर्भिस लेनमा पनि छुट्टै बत्ती आवश्यक पर्ने भएकोले अहिले नै जडान गरिएको घिमिरेले बताए।
सडकमा जडान गरिएका बल्बहरू सेन्सरको माध्यमबाट अँध्यारो भएपछि आफैं बल्ने र उज्यालो भएपछि आफैं बल्न छोड्ने छन्। त्यसको लागि डिभाइडरको लागि ५ तथा सर्भिसलेनको लागि १५ स्थानमा विद्युत् कन्ट्रोलर राखिएको विद्युत प्राधिकरणले जनाएको छ।
तस्बिरहरू: