लेखनाथ लायन्स क्लबलाई विदेशबाट स्वास्थ्य क्षेत्रमा खर्च गर्न ठूलो परिणाममा पैसा आउने चर्चा चल्यो। लेखनाथ लायन्सका पदाधिकारीलगायत सदस्यले अस्पताल चलाउने निर्णय गरे। उक्त निर्णयलाई तत्कालीन लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघलगायत संघ-संस्था र स्थानीयले साथ दिए।
अस्पताल चलाउन उनीहरूसँग कुनै पूर्वाधार थिएन। नयाँ पूर्वाधार बनाउन चाहिने आर्थिक संकलन गर्न लेखनाथ लायन्सले २०६० फागुन १७ देखि २४ सम्म महायज्ञको आयोजना गरे। महायज्ञमा पण्डित नारायण पोखरेलले श्रीमद् भागवत कथा वाचन गरे। महायज्ञबाट २ करोड रुपैयाँ संकलन भयो।
त्यही पैसाबाट लेखनाथ सामुदायिक लायन्स अस्पतालको जग बसाइएको थियो। अस्पतालको भवन ठडिएपछि २०६२ सालमा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट)बाट अस्पतालको सेवा दिन सुरू भयो। अस्पतालको पूर्वाधार थपिँदै जाँदा अस्पतालले सेवा पनि विस्तार गर्दै लग्यो। त्यसपछि मेडिकल अफिसर राखेर सेवा दिन थाले। मेडिकल अफिसरपछि एमडी डाक्टर राखेर सेवा विस्तार गरे।
अस्पतालको पूर्वाधार बनाउन लायन्स इन्टरनेशनलबाट सुरूमा ७५ हजार अमेरिकी डलर प्राप्त भयो। अस्पतालको सेवा देखेर फेरि लायन्स इन्टरनेशनलले ८५ हजार डलर पठायो।
लेखनाथमा त्यतिबेला उपयुक्त अस्पतालको अभाव थियो। त्यही अभाव पुरा गर्न निरन्तर सेवा थप्दै लगेको अस्पतालका अध्यक्ष रमानाथ पौडेलले बताए। अस्पतालमा प्रसुती रोग सेवा, सर्जरी, फिजिसियनलगायतका सेवा थप्न र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन व्यवस्थापन समितिले फेरि महायज्ञको आयोजना गरेको थियो।
कोरोना भाइरसको महामारी फैलनुअघि नै अस्पतालको साधारण सभाले सुरूको महायज्ञमा कथा वाचन गरेका पण्डित नारायण पोखरेलकै छोरा दिनबन्धु पोखरेललाई निम्ता दिइसकेका थियो। दिनबन्धुले आफू महायज्ञमा आउने वचन दिएका थिए भने त्यसको तयारीमा अस्पताल व्यवस्थापन समिति जुटिसकेको थियो।
अस्पतालको पूर्वाधार र सेवा विस्तार गर्न यही वैशाख १७ देखि २३ गतेसम्म आयोजना गरेको महायज्ञ लकडाउनका कारण चैतमै रद्द गर्नुपर्यो। कोरोना भाइरसको महामारीका कारण अस्पतालले महायज्ञमात्र रद्द गरेन अब यो अस्पताल समुदायमातहत नरहने गरी सरकारलाई हस्तान्तरण गरिदियो।
अस्पताल बनाउन लायन्स इन्टरनेशनल र स्थानीय समुदायको झन्डै ३ करोड रुपैयाँ खर्च भएको छ। कोरोनाभाइरस महामारीका कारण गण्डकी प्रदेशले कोरोना विशेष अस्पताल बनाउन उपयुक्त अस्पतालको खोजी गरिरहेको थियो। निजी र सामुदायिक अस्पताल खोज्दै जाँदा प्रदेशले यही लेखनाथ सामुदायिक लायन्स अस्पताललाई कोरोना विशेष अस्पतालको रूपमा घोषणा गर्यो।
६० शैयाको यो अस्पताललाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ संयोजक रहेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले चैत १० गते कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो।
कोरोना विशेष अस्पताल बनाउन आवश्यक पूर्वाधारको अभाव भएपछि सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरेको छ।
लेखनाथ सामुदायिक लायन्स अस्पतालमा भने प्रदेशले पूर्वाधार बनाउन थालेको छ। अस्पताल सञ्चालक समिति र प्रदेश सरकारबीच निरन्तर छलफल र वार्तापश्चात अस्पताल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको अस्पतालका अध्यक्ष पौडेलले बताए।
‘कोरोनाभाइरस नआएको भए यो अस्पताल समुदायकै हुन्थ्यो, हामीले महायज्ञ पनि गरिसक्थ्यौं,’ पौडेलले सेतोपाटीलाई भने, ‘कोरोनाले सब चौपट पारिदियो, प्रदेशले चाहियो भनेपछि हामीले निर्णय गरेर हस्तान्तरण गरिदियौं।’
अस्पताल हस्तान्तरण गर्दा प्रदेश सरकार र अस्पताल व्यवस्थापन समितिबीच ९ बुँदे सम्झौता भएको छ। सम्झौतामा प्रदेशको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्ले र अस्पताल व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष रमानाथ पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौताको साक्षी भने स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्मा बसेका छन्।
समुदायले चलाएको अस्पताल सरकारलाई हस्तान्तरण गरे पनि समुदायको इतिहास भने झल्कने गरी चलाउने सम्झौता गरेको अध्यक्ष पौडेलले बताए। अस्पताल स्थापनामा लायन्स क्लबको योगदानको कदर गर्दै अस्पतालको कुनै एउटा वार्डलाई लायन्सको नामबाट नामाकरण गर्ने र अस्पताल स्थापना गर्दा दान गर्ने दाताको नाम सहित शिलालेख राख्ने सम्झौता भएको छ।
अस्पताल हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरूङले समुदायको भावना र इतिहासलाई सम्मान गरेर अस्पताल चलाउने बताए।
‘तपाईंहरूले ठूलो योगदान गरेर यो अस्पताल खोल्नुभयो, तपाईंहरूको योगदानको कदर गर्छौं,’ मुख्यमन्त्री गुरूङले भने, ‘संक्रामक र सरूवा रोग विशेष अस्पतालका रूपमा हामी यहीँबाट विशिष्टिकृत सेवा दिन चाहन्छौं।’
समुदायले चलाउँदा भएको समझदारीअनुसार अस्पतालले एउटा दम्पत्तिको पनि जिम्मेवारी लिनु पर्नेछ। पोखरा-३० का ७५ वर्षीय रेवतीरमण पौडेल र उनकी श्रीमती ६९ वर्षीया शान्तादेवी पौडेलको भरण पोषण र बस्ने व्यवस्था अब प्रदेश सरकारले गर्ने सम्झौतामा उल्लेख छ।
रेवती-शान्तादेवीले आफ्नो नाममा रहेको सबै सम्पत्ति अस्पताललाई दान दिएका छन्। उनीहरूको नाममा भएको एउटा जग्गा बेचेर अस्पतालले बैंकमा १८ लाख १२ हजार रुपैयाँ राखेको छ। त्यही रकमबाट अस्पतालले उनीहरूलाई पालनपोषण गर्दै आएको थियो।
अस्पतालले लगाएको महायज्ञमै नि:सन्तान रेवती–शान्तादेवीले अस्पताललाई सम्पूर्ण चलअचल सम्पत्ति दिएका थिए। उनीहरूको नाममा रहेको झन्डै २ करोड रुपैयाँ बराबरको जग्गा अस्पतालको नाममा ल्याउने प्रक्रिया थालेको अध्यक्ष पौडेलले बताए।
प्रदेशले ल्याएको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा प्रदेशमातहत संक्रामक तथा सरूवा रोग विशेष अस्पताल बनाउने बताएको थियो। त्यही कार्यक्रमअन्तर्गत लेखनाथ सामुदायिक लायन्स अस्पताल प्रदेश सरकारमातहत ल्याएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले बताए।
अहिले ६० बेडमा चलेको यस अस्पताललाई सय बेड पुर्याउने प्रदेशको योजना छ। कोरोना, डेंगीलगायत महामारीजन्य सरूवा रोग नियन्त्रण गर्न २ अर्ब ३४ करोड रुपैयाँ लागतमा यस अस्पताललाई संक्रामक तथा सरुवा रोग विशेष अस्पताल बनाउने योजना रहेको डाक्टर शर्माले बताए। उक्त योजनामा २ सय बेडको क्वारेन्टिन सुविधासमेत रहेको उनको भनाइ छ।
संघीय सरकारले पनि प्रत्येक प्रदेशमा ५० बेडको सरूवा रोग विशेष अस्पताल बनाउने बताएको छ। संघीय सरकारको अनुदान र प्रदेश सरकार मिलेर यस विशिष्ट सुविधासहित संक्रामक तथा सरूवा रोग अस्पताल बनाउन लागेको डाक्टर शर्माले बताए।
अस्पताल हस्तान्तरण भएसँगै प्रदेश सरकारले १ जना मेडिकल अधिकृत, लेखा अधिकृत र शाखा अधिकृत खटाएको छ। तत्कालका लागि अहिलेकै व्यवस्थापन समितिले अस्पतालको व्यवस्थापन गर्ने र अस्पतालमा कार्यरत ६० जना स्वास्थ्यकर्मी प्रदेश सरकारमातहत रहने गरी तत्काल करार सुविधा पाउने डाक्टर शर्माले बताए।
नेपालमा काठमाडौंको टेकुमा मात्र संक्रामक तथा सरूवा रोग विशेष अस्पताल सञ्चालनमा रहेको थियो। अब पोखराको लेखनाथ सामुदायिक लायन्स अस्पताल पनि सरकारमातहतकै संक्रामक तथा सरूवा रोग विशेष अस्पताल बनेको छ। अस्पतालले अहिले नियमित सुविधा दिए पनि संक्रमक एवं सरूवा रोगको विशिष्टिकृत सुविधा दिन समय लाग्ने डाक्टर शर्माले बताए।