मोरङ प्रहरीले एक महिलामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिराटनगर महानगरपालिका-१२ बखरी बस्ने नयन श्रेष्ठ र उनका भाइ पर्ने ४० वर्षीय ज्योति श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो।
नयन श्रेष्ठ बिराटनगर वडा नम्बर ३ स्थित काठमाडौं सेक्युरिटी कार्यालयका सञ्चालक हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी पूर्व प्रहरी समेत हुन्।
फागुन ३ गते साँझ ६ बजे आफ्नो कार्यालयमा बोलाइ नयनले जबरजस्ती करणी गरेकाे एक महिलाले आरोप लगाएकी छिन्।
हल्ला गरेमा मार्ने धम्की दिइ ती महिलालाई जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन्।
साेही बेलाकाे भिडियाे आफूले खिचेकाे भन्दै नयनकै भाइ नाता पर्ने ज्योतिले दाइले भनेका सबै मान्नु पर्ने भनी दवाव दिँदै आएकाे महिलाकाे आराेप छ।
प्रहरीले उनीहरू दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको डिएसपी मानबहादुर राईले जानकारी दिए।
पीडित महिलाका अनुसार नयनकै श्रीमती रसिला श्रेष्ठ पनि आफूसँग सम्पत्ती हडप्न बार्गेनिङ गर्न आएकी थिइन्।
पीडित महिलाले जाहेरीमा उल्लेख गरे अनुसार असार १२ गते शुक्रबार बेलुकी रसिलाले बोलाएर शर्त मानेमा आफ्ना श्रीमानले खिचेको भिडियाे दिने वा हटाइदिने कुरा गरेकी थिइन्।
शर्तमा घरजग्गा उनीहरूको नाममा पास गराउनु पर्ने वा १० लाख दिन माग राखेकी थिइन्।
प्रहरीले रसिलालाई भने नियन्त्रणमा लिएको छैन। 'आरोप लागेको हो, तर त्याे आराेप अहिले पुष्टि भइसकेको छैन त्यसैले हामीले पक्राउ गरेका छैनौं,' डिएसपी राईले भने,'अनुसन्धान भइरहेको छ।'