ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। बिहीबार एयर फोर्स बेसमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
ओएच-५८डी हेलिकप्टर हासिन्चिउमा रहेको सैनिक बेसमा जारी वार्षिक सैन्य अभ्यासका क्रममा दुर्घटनामा परेकाे हाे।
दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो। दुर्घटनामा घाइते भएका दुबै पाइलटलाई अस्पताल लगिएको थियो। अस्पताल पुग्दा डाक्टरले उनीहरूलाई मृत घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
ताइवानी राष्ट्रपति साई इङ वेनले घटनाप्रति दु:ख व्यक्त गर्दै सैनिकको लागि ठूलो घाटा भएको बताएकी छिन्। उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिने वाचा गरेकी छिन्।
बिहीबार बिहान राष्ट्रपति साईले सैन्य अभ्यासको निरीक्षण गरेकी थिइन्।
'हाम्रो दृढता र हाम्रो आफ्नै भूमिको रक्षा गर्ने प्रयासको संसार साक्षी बनोस्,' उनले भनिन्। अमेरिकामा बनेको ओएच-५८डी हेलिकप्टर ताइवानमा तेस्रो पटक दुर्घटनामा परेको हो।
तर यसअघिका दुर्घटनामा मानवीय क्षति भएको थिएन।