चितवनको कलेज अफ मेडिकल साइन्सेन्सले कानुनी प्रक्रिया पूरा गरेर मिर्गौला प्रत्यारोपण गरेको प्रष्ट पारेको छ।
आफ्नो संस्थाका ३ जना चिकित्सक र कानुनी सल्लाहकार अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै मेडिकल साइन्सेन्सले कानुनी प्रक्रिया पूरा गरेर मिर्गौला प्रत्यारोपण गरेको प्रष्ट पारेको हो।
‘प्रत्यारोपण स्वीकृति समिति’ गठन गरि उक्त समितिको निर्देशन अन्तर्गत रहेर अङ्ग ग्रहण कर्ता र अङ्गदानकर्ताको सम्बन्धित स्थानीय निकायबाट नाता प्रमाणित र मन्जुरीनामा, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणित गरि साथै सरकारको प्रचलित कानुनको अनुसुचिमा उल्लेख गरिए अनुसारको फारमहरू भराई सोको आधारमा तथा अङ्ग प्रत्यारोपण गरेको सो कलेजले दाबी गरेको छ।
मिर्गौला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभ हानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एबम् प्रत्यारोपण स्वीकृति समितिको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको छ कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै, सो कलेजले प्रहरी अनुसन्धानमा पूरा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
‘विद्यमान कानुनी जटिलताहरू फुकाउन सकेको अवस्थामा मात्रै सुस्त गतिमा रहेको प्रत्यारोपणको अनुपात बढ्ने विश्वास हामीले लिएका छौं’, कलेजका अतिरिक्त निर्देशक डाक्टर मनोहर प्रधानले भने।