ललितपुरका शंकरमान (नाम परिवर्तन) केही वर्षदेखि अष्ट्रेलियामा छन्। यो बीचमा उनी नेपाल आएका छैनन् तर उनी बनेर कसैले उनका मामालाई मिर्गौला दिइसकेको छ।
घटना २०७६ जेठतिरको हो। शंकरमानका मामाको मिर्गौलाले काम गर्न छोडे। उनले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो।
मिर्गौला दान दिने मान्छे नाताभित्र कोही भेटिएन। मिर्गौलाको अवैध कारोबार नहोस् भनेर कानुनले केही निश्चित मानिसहरूले मात्र मिर्गौला दिन मिल्ने व्यवस्था गरेको छ।
कानुनअनुसार परिवारका कसैको मिर्गौला नमिल्ने भएपछि उनीहरूले अवैध तरिकाबाट मिर्गौला किन्ने योजना बनाए।
त्यसपछि वडादेखि अस्पतालसम्मको जालो बन्यो। काठमाडौंका अस्पतालमा प्रत्यारोपण गर्दा पोल खुल्ने डरले उनीहरूले भरतपुरको कलेज अफ मेडिकल साइन्सेस टिचिङ अस्पताललाई रोजे। अष्ट्रेलियामा रहेका शंकरमानको नागरिकता र अन्य कागजात फर्जी बनाएर नक्कली डोनर खडा गरे। ती डोनर मजदुर थिए, केही लाख पैसा पाउने लोभमा उनी मिर्गौला दिन राजी भए।
२०७६ जेठ २७ गते ती पुरूषको मिर्गौला प्रत्यारोपण भयो। यो खबर त्यति नै बेला नेपाल प्रहरीको मानव बेचविखन ब्युरोलाई पुगिसकेको थियो।
ब्युरोले अनुसन्धान अघि बढाउँदा प्रहरी कर्मचारी नै अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न रहेको पाइयो।
ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार मिर्गौला दिने मजदुर खोज्नदेखि त्यो प्रत्यारोपण गर्नसम्म १२ जनाले विभिन्न भूमिका खेलेका थिए। उनीहरू सबैलाई प्रहरी पक्राउ गरेर जिल्ला अदालत ललितपुरबाट अनुसन्धान म्याद थपिसकेको छ।
पक्राउ पर्नेहरूमा जिल्ला प्रशासन कार्यालय चितवनमा अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेस टिचिङ अस्पताल भरतपुरका कानुनी सल्लाहाकार रमेश काफ्ले, सोही अस्पतालका सञ्चालकसमेत रहेका डाक्टर सुप्रभात श्रेष्ठ, अर्का डाक्टर बालकृष्ण कालाखेती, काठमाडौंको नोबेल अस्पतालका डाक्टर राकेशकुमार बर्मा, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्र राज थपलिया छन्। त्यस्तै भक्तपुर बस्ने भोजपुरकी रेश्मा राई, ललितपुर महानगरपालिका-३ का वडा अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र सोही कार्यालयका कार्यालय सहायक नवराज केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ उपदफा १ (ग)को कसुर (प्रचलित कानुन बमोजिमबाहेक मानिसको कुनै अंग झिक्ने) भएकोले सोही मुताविक कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानएको छ।