दाङको घोराही-मुकृट्टी हुँदै प्यूठान जोड्ने सडकखण्ड छेउको काउले डाँडामा आइतबार १ हजार ८ सय चिउरीका बिरुवा रोपिएको छ।
काउले डाँडोलाई जिल्लाकै चिउरीको बगान बनाउने उद्देश्यका साथ वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए।
काउले डाँडाको खाली बन क्षेत्रमा बहुउपयोगी चिउरीको उद्यान बनाइ पर्यटकीय स्थल बनाउने योजनाका साथ काम शुरु भएको ज्ञवालीले बताए।
चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सीमानामा रहेको काउलेडाडाँको करिब ५ हेक्टर वन क्षेत्रमा तारबारसहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको प्रमुख ज्ञवालीले बताएका छन्।
बृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली लगायत स्थानीय उपभोक्ताको पनि सहभागिता थियो।
सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा उक्त अभियान थालिएको हो।
अभियान सार्थक पार्नको लागि लौरो टेकेर ८७ वर्षीय रामप्रसाद बिक पनि सहभागी भए। पहिला हराभर डाँडापाखा अहिले उजाड हुँदै गएकोप्रति बिकले चिन्ता जाहेर गरे।
‘माटोलाई भर, माहुरीलाई घर, चिउरीको घ्यु खान लाग्यो है रहर’भन्ने नाराका साथ चिउरीको बगान बनाउने अभियान सुरु भएको अम्विकेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छविलाल कुँवरले जानकारी दिए।
चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, माहुरी चरण क्षेत्र बनाउने, हरियाली, डालेघाँस र वनस्पती घ्युमा समेत प्रयोग गर्ने सकिने प्रमुख ज्ञवालीले बताए।