काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उनीहरूमा संक्रमण भएको पुष्टि गरे।
उनले यसबारे थप विवरण बुझ्ने काम भइरहेको जनाए।
अस्पतालले भने यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने बताएको छ। अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीमा संक्रमण देखिएको भन्दै बाँकी जानकारी मन्त्रालयले गर्ने जनाए।
उनले अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआइन्जेल स्थगित गरिएको बताए।
पछिल्लो समय उपत्यकाका अस्पतालहरू नै संक्रमणको जोखिममा परेको छ।
यसअघि पनि काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।
सरकारले अस्पतालहरूमा पनि जोखिम बढेको भन्दै अस्पतालको आकस्मिक कक्ष र आइसियूमा भर्ना भएका बिरामीको परीक्षण गर्ने जनाएको छ।