नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्दार गरिरहेको छ।
लकडाउन सुरु भएयता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई उद्दार गरेको छ। एयरलाइन्सले विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि राम्रो सुरक्षा अपनाइएको जनाएको छ।
एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहारचनले ‘कोरोना अपरेटिङ प्रोसिड्युसर’ बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताए। उनले यात्रुसँग सकेसम्म सम्पर्क कम होस भन्ने उद्देश्य अनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिए।
यस्तै विमानभित्र कुनै पनि यात्रुलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखा परेमा तत्काल आइसोलेटेड गर्ने व्यवस्था विमानभित्रै गरिएको उनले बताए। ‘कुनै यात्रुलाई केही लक्षण देखियो भने इनफ्लाइट म्यानेज गर्नेगरी इनफ्लाइट आइसोलेसन जोन पनि बनाएका छौं,’ उनले भने।
चालकदलका सदस्यलाई घर जान नदिन होटलमै क्वारेन्टिनको व्यवस्था गरिएको जुहारचनले बताए।
‘उडान भरेपश्चात आफ्नो घरमा गएर बुढाबुढी आमाहरु वा कुनै बालबच्चाहरुसँग सिधा सम्पर्कमा नआओस भनेर हामीले क्वारेन्टिनको सेटअप गरेका छौं’ जुहारचनले भने, ‘उडान भइसकेपछि पनि घर जानुअघि पिसिआर टेस्ट नेगेटिभ आएपछि पुर्याइदिने व्यवस्था गरेका छौं।’
एयरलाइन्सका पाइलट सुरज भण्डारीले कुनै पनि उडान भर्दा गम्भिरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताए। उनले कोरोना भाइरसको सम्बन्धमा सम्पूर्ण जानकारी राखिएकाले कुनै डर नभएको बताए।
नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्नु परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भिरतापूर्वक सावधानी अपनाइएको उनको भनाइ छ।