कालीमाटीबाट ६५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीले स्रोत नखुलेको ६५ लाख ८ हजारसहित २ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले सोमबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट सोही ठाउँ बस्ने २५ वर्षीय भारतीय नागरिक रविशंकर सिंह र बारा जीतपुरका ४७ वर्षीय रमेश सिंहलाई नियन्त्रणमा लिएको हो।
हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका एसएसपी श्याम ज्ञवालीका अनुसार कालीमाटीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरूको खानतलासी गर्दा ६५ लाख आठ हजार बरामद गरेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ।