गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारका मन्त्रालय बढी भएको बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै उनले संघीय प्रणालीमा विकास निर्माणका काम तल्ला सरकारले गर्ने भएकाले यति धेरै मन्त्रालय जरुरी नरहेको बताए।
‘मन्त्रालय किन २५ वटा चाहिन्छ? १२ देखि १५ भए पुग्छ। ६०–६५ वटा विभाग किन चाहिन्छ? २५–३० वटा भए पुग्छ’ उनले भने, ‘केन्द्रमा ५० हजार कर्माचारीको जत्था किन चाहिन्छ? विभागीय खर्च घटाउनुपर्छ। मन्त्रालयको खर्च घटाउनुपर्छ। संघीय सरकारलाई २०–३० हजार कर्मचारी भए पुग्छ।’
गण्डकी प्रदेश सरकारले यसपटक कोभिड–१९ को रोकथामलाई पहिलो प्राथमिकतामा राखेको समेत उनले बताए। योसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेको उनले बताए। गुरुङले सेनाको संख्या समेत घटाउनुपर्ने बताएका छन्।
राजश्वको दायरा बढाएर प्रदेशहरुलाई आत्मनिर्भर बनाउन समेत संघीय सरकारसँग माग गरेका छन्।
गण्डकी प्रदेशले गरिरहेका कामबारे मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङसँग गरिएको संक्षिप्त कुराकानी भिडिओमा हेर्नुहोस्।