कोरोना भाइरसको आयुर्वेदिक औषधिबारे भ्रम छरेको भन्दै योगगुरू रामदेव बाबासहित पाँच जनाविरूद्ध उजुरी परेको छ।
भारतीय समाचारपत्र द हिन्दुका अनुसार मन्त्रालयसँग अनुमति नै नलिइ औषधि बनाएको र भ्रम छरेको भन्दै उनीसहित पाँच जनाविरूद्ध शनिबार ज्योति नगर प्रहरी कार्यालयमा उजुरी परेको हो।
उनीसहित पतञ्जली आयुर्वेद लिमिटेडका सिइओ बालकृष्ण आचार्य, कर्मचारी अनुराग वार्ष्णेय, बालविरसिंह तोमर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्च(निम्स)का अध्यक्ष तथा निर्देशक अनुरागसिंह तोमरविरूद्ध केही नागरिक तथा वकिल बलवीर झाखरले उजुरी दिएका हुन्।
गत मंगलबार रामदेव बाबाको पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको 'कोरोनिल' नामक औषधि पत्ता लगाएको दाबी गरेको थियो। तर उनले उक्त औषधि बनाउनका लागि आयुष मन्त्रालयसँग अनुमति नै नलिइ बनाएको खुलेको हो। आयुष मन्त्रालय भारतको आयुर्वेद तथा योग सम्बन्धीको मन्त्रालय हो।
उक्त कम्पनीले औषधि निम्स अस्पतालसँग सहकार्य गरी जयपुरमा परीक्षण गरेको बताएको थियो। रामदेवले कोभिड- १९ निको हुन्छ भनेर दाबी गरिएको औषधिको ट्रायलमा २८० बिरामी सहभागी थिए। उनीहरू सबै यो औषधि खाएर निको भएको बताइएको छ।
उजुरी परे पनि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छैन।
मन्त्रालयले भने उक्त औषधिको प्रचारप्रसार गर्न बन्द गर्न निर्देशन समेत दिएको छ।
यो पनि :
आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी