दार्चुलाको नौगाड गाउँपालिकामा वडा नम्बर ४ मा नहर भत्किँदा बाबुछोराको मृत्यु भएको छ।
हिजो राति १ बजेतिर भोपरी गाड लघुजलविद्युत आयोजनाको पुरानो नहर भत्किएर भिरालो जमिनको माटो, ढुंगा खसिएर पहिरोको रूपमा परिणत भएपछि सोही ठाउँका तीन घर पुरिएका थिए।
तीन घरमध्ये एक घरका २ सदस्य बाबुछोराको घटनास्थलमै राति २ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामीले बताए।
उनले भने, ‘भोपरी बस्तीमा रहेको ५० मेगावट क्षमता भएको लघुजलविद्युतको त्यो पुरानो नहर हो माथि नहर भत्कियो।भिरालो जमिनबाट पानी, माटो, ढुंगा खसेपछि पहिरोमा परिणत भयो। तल रहेको भोपरी बस्तीका तीन घरमा क्षति पुर्याएको हो।’
मृत्यु हुनेमा २५ वर्षीय चन्द्र बोहरा र उनका ४ वर्षीय सुप्रशान्त बोहराको मृत्यु भएको हो।
उनकी श्रीमती चनमती महता घाइते भएकी छन्।उनको हातमा चोट लागेको छ।
घाइते उनलाई गाउँपालिकाको स्वास्थ्य टोलीले उपचार गरिरहेको र दार्चुला जिल्ला अस्पतालमा उपचारको लग्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए।
उनले भने, ‘कच्ची सडक भएकाले यातायातका साधन छैन। सदरमुकाम लग्नु परे ९ घण्टा जति हिँडेर जानुपर्ने अवस्था छ।’
पहिरोमा सोही ठाउँका अमर महता र गमुवा बोहराको घर पनि पुरिएको छ। उनीहरूको घरमा मानवीय क्षति भने नभएको अध्यक्ष धामीले बताए।
तीन घरमा रहेको अन्नपात लुगा फाटो र घरपालुवा जनावार पनि पहिरोका कारण पुरिएका छन्।
घरमा राखेको समानको कति क्षति भयो भन्ने यकिन तथ्यांक आएको छैन।
प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिए।