नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड—१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ।
संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ।
परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुरा बाहिरबाट आइरहेको र नेपालको इथिकल बोर्डले पनि पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए।
उनले भने, ‘‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने आइरहेको छ, हाम्रो इथिकल बोर्डले पारित गर्यो, छिट्टै सुरु गर्छौं। डिस्चार्ज भएर जानेहरुले पनि हामी दिन्छौँ भनेर भनिरहेका छनन्, रिसर्च गर्छौं।’’
परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षण पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ।
परिषदले कोभिड—१९ महामारी सम्बोधनमा नेपालभर स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्याङ्कन सम्बन्धी अनुसन्धान समेत गरेको छ। सरकारले तोकेका कोभिड-१९ अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरिएको परिषदले जनाएकाे छ।