अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।
बिहीबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रधानसम्पादक थापाले राजीनामा पत्र बुझाएका हुन्।
आफूले राजीनामा बुझाइसकेको थापाले सेतोपाटीलाई बताए। थापा २०७५ साउन १६ गते अन्नपूर्ण पोष्टको प्रधानसम्पादक नियुक्त भएका थिए।
पछिल्लो समय अन्नपूर्ण मिडिया नेटवर्क र प्रधानसम्पादक थापाबीच पत्रकार/कर्मचारीको तलबबारे मतभेद भएको थियो।
व्यवस्थापनले पत्रकार तथा कर्मचारीको तलब दिन आनाकानी गरेपछि प्रधानसम्पादक थापाले पत्रकारलाई समयमै पारिश्रमिक उपलब्ध गराउनु पर्ने अडान राख्दै आएका थिए।
फागुनदेखि अन्नपूर्ण पोष्टले जिल्ला संवाददातालाई तलब नदिएको र काठमाडौंका पत्रकारलाई पनि आधा तलबमा काम गर्न दबाब दिएको स्रोत बताउँछ।
अढाइ दशकदेखि पत्रकारितामा रहेका थापा विशेषगरी सामाजिक विकृति र भ्रष्टाचारविरूद्ध कलम चलाउँछन्।
उनको रजगज, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र, दलिय द्वन्द्वलगायत किताब प्रकाशित छ।
अन्नपूर्णमा प्रधानसम्पादक हुनु अघि थापा कान्तिपुर दैनिकमा सम्पादकको भूमिकामा थिए।
अन्नपूर्ण मिडिया नेटवर्क स्रोतका अनुसार थापाले दिएको राजीनामा स्वीकृत भइसकेको छैन। नेटवर्कका अध्यक्ष रामेश्वर थापाले नयाँ प्रधानसम्पादक नियुक्त नभएसम्म थापाको राजीनामा स्वीकृत नगर्ने बताएको स्रोतको दाबी छ।