जेठ लागेपछि भारतबाट फर्किनेहरू डेढ लाखभन्दा बढी भएका छन्।
भारतले वैशाख ३० गतेदेखि रेल सेवा सुरू गरेपछि लकडाउनकै बीचमा पनि नेपाल फर्किनेहरूको भीड हुन थालेको हो।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले भारतबाट फर्किएकाको दैनिक तथ्यांक संकलन गर्ने गरेको छ।
सेतोपाटीलाई प्राप्त तथ्यांकअनुसार जेठ १७ गतेसम्म भारतबाट १ लाख ४१ हजार १ सय ९१ नेपाली स्वदेश आएका छन्।
जेठ १७ गतेमात्रै १४ हजार ३ सय ५४ जना विभिन्न नाकाबाट नेपाल आएका हुन्। सिसिएमसी स्रोतका अनुसार जेठ १८ र १९ गते पनि त्यही संख्यामा नेपाली फर्किएका छन्।
त्यसरी हेर्दा नेपाल फर्किनेको संख्या १ लाख ७० हजार हुन आउँछ।
भारतबाट फर्किनेमध्ये प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका नाकाबाट धेरै भित्रिएका छन्।
प्रदेश ५ का महेशपुर, बेलहिया, तौलिहवा, कष्णनगर, जमुनाह र सरजपुर नाकाबाट गरी ७० हजारभन्दा बढी नेपाली भित्रिएका छन्।
महेशपुर, बेलहिया, तौलिहवा र कृष्णनगरबाट गण्डकी प्रदेशका मानिस पनि प्रवेश गर्छन् भने जमुनाह र सरजपुरबाट कर्णाली प्रदेशका मानिस पनि आउँछन्।
सुदुरपश्चिम प्रदेशका पुलघाट, झुलाघाट, गड्डाचौकी र गौरीफन्टा नाकाबाट जेठ १ यता ७० हजार हाराहारीमा मानिस भित्रिएको सिसिएमसी स्रोतले सेतोपाटीलाई बतायो।
सुदुरपश्चिम प्रदेशबाट भित्रिएका केही मानिस भने कर्णाली प्रदेशका पनि हुन्।
त्यस्तै प्रदेश २ का विभिन्न नाकाबाट भित्रिनेहरुको संख्या २५ हजार छ। सबैभन्दा थोरै प्रदेश १ का विभिन्न नाकाहरूबाट भित्रिएका छन्। जसको संख्या ५ हजारको हारहारीमा छ।
प्रदेश २ का विभिन्न नाकाबाट भित्रिनेहरू गण्डकी र बागमती प्रदेशका पनि छन्।
सिसिएमसीको सुरूआती अनुमानमा भारतबाट करिब ३ लाख ५० हजार नेपाल भित्रिन्छन् भन्ने थियो। तर अहिले नेपाल फर्किनेको भीड देख्दा त्यो संख्या ६ देखि १० लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
सिसिएमसीले भारतबाट फर्किनेमध्ये करिब १३ प्रतिशतलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने प्रक्षेपण गरेको थियो।
'नेपालीहरू भारतमा रोजगारीका लागि बढी गएको ठाउँ र त्यो ठाउँको संक्रमणको आधारमा हामीले यो अनुमान गरेको हो, ' सिसिएमसीका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, 'नेपालीहरू सबैभन्दा बढी गएको महाराष्ट्रमा हो। भारतको पनि महाराष्ट्रमै सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण छ।'
सरकारले भारतबाट आउनेका लागि सीमा नाकामा होल्डिङ सेन्टर बनाउने र त्यहाँबाट जिल्लास्थित क्वारेन्टाइनमा पठाउने निर्णय गरेको छ। यसको सबै व्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालई दिइएको छ। तर यसको कार्यविधि अझै तयार भइनसक्दा सरकारी योजनाअनुसार काम हुन सकेको छैन।
सीमामा आउनेहरूलाई सामान्य स्वास्थ्य परीक्षण गरेर पठाइएको छ।
'अहिले त ज्वरो नापेर आफ्नै जिल्लामा क्वारेन्टाइनमा बस्न भनिएको छ। उनीहरू आफ्नै तरिकाले गइरहेका छन्,' सिसिएमसीका ती अधिकारीले भने,'भारतबाट आउनेहरू अरू देशबाट आएकाजस्ता हुँदैनन्। कति रित्तै हात आएका हुन्छन्। उनीहरू कसरी जान्छन्, कहाँ बस्छन्, के खान्छन् भन्नेतर्फ अझै ध्यान पुग्न सकेको छैन।'