भारत बाहेकका देशबाट जहाजमार्फत् कति नेपाली आउँछन् भनेर अनुमान गर्न सकिने भए पनि भारतबाट आउनेहरूको अनुमान गर्न कठिन छ।
भारतमा रोजगारीका क्रममा गएका नेपाली कति छन् भन्ने यथार्थ तथ्यांक नै सरकारसँग छैन। भारत जानेहरूको कुनै रेकर्ड नहुने र कतै स्वीकृति लिन नपर्ने भएकाले पनि सरकारसँग तथ्यांक नभएको हो।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले अनुमान गरे अनुसार भारतमा ४० लाखको हाराहारीमा नेपाली रहेका छन्। यो महामारीका कारण कति नेपाली स्वदेश फर्किन सक्छन् भन्ने तथ्यांक पनि सरकारसँग छैन।
सिसिएमसीले सुरूमा गरेको अनुमान अनुसार साढे ३ लाख नेपाली भारतबाट फर्किन्छन् भन्ने थियो। तर त्यो संख्या बढेर ६ लाखदेखि १० लाखसम्म पुग्न सक्ने सिसीएमसीको आकलन छ।
वैशाख ३० गते भारतले रेल सेवा सुरू गरेपछि झण्डै डेढ लाख नेपाली स्वदेश फर्किसकेका छन्।
यसरी फर्किएकाको भीडले गर्दा सीमा नाकामा पर्याप्त स्वास्थ्य परीक्षण हुन सकेको छैन।
सरकारले जारी गरेको कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश,२०७७ मा भारतबाट फर्किन चाहनेहरूका लागि २० वटा नाका तोकेको छ। यद्यपी यसको कार्यान्वयन सुरू भइसकेको छैन।
जसमध्ये इलामको पशुपतिनगर, झापाको काँकडभित्ता,मोरङको रानी,सप्तरीको कुनौली,सिराहाको ठाडी,महोत्तरीको भिट्ठामोड,सर्लाहीको मलंगहवा रहेका छन्।
त्यस्तै रौतहटको गौर,पर्साको वीरगञ्ज,नवलपरासी पश्चिमको महेशपुर,कपिलवस्तुको तौलिहवा,कपिलवस्तुको कृष्णनगर,बाँकेको जमुनाह,बर्दियाको गुलरिया,कैलालीको गौरिफन्टा,कञ्चनपुरको गड्डाचौकी,बैतडीको झुलाघाट र दार्चुलाको दार्चुला रहेका छन्।
सीमा नाकामा आएका नेपालीहरूको विवरण सम्बन्धित प्रदेश,जिल्ला र पालिकालाई बुझाउनुपर्ने प्रावधान राखिएको छ।
भारतबाट आउनेका लागि नाकाहरूको प्रवेश विन्दु नजिकको विद्यालय,सामुदायिक भवन,कभर्ड हल,पार्टी प्यालेस वा अन्य उपयुक्त खुला स्थान छनोट गरी होल्डिङ सेन्टरको व्यवस्था गर्ने सरकारको योजना छ।
होल्डिङ सेन्टर नेपाली सेना तथा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहयोगमा सम्बन्धित स्थानीय प्रशासनले गर्नेछ।
उनीहरूलाई सीमा नाकाको प्रवेश विन्दुमा व्यवस्था गरिएको सवारी साधनबाट प्रदेशगत रूपमा व्यवस्था गरिएका बसबाट नेपाली सेनाको संयोजकत्वमा सोझै होल्डिङ सेन्टरमा लग्ने प्रावधान राखिएको छ।
होल्डिङ सेन्टरमा ज्वरो नाप्ने र ज्वरो १००.४ डिग्री भएमा आइसोलेसन कक्षमा लैजाने र अन्यलाई नेपाली सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकसम्म पुर्याउने प्रावधान बनाइएको छ।
होल्डिङ सेन्टरमा रहेकाको ट्रेसिङ सहजताका लागि मोबाइल नम्बर नहुनेहरूलाई निःशुल्क सिम कार्ड उपलब्ध गराउने र उनीहरूले त्यो सिम कार्ड कम्तीमा ६० दिनसम्म चलाउनुपर्नेछ।
उनीहरूले आफ्नो मोबाइलमा स्वास्थ्य मन्त्रालयको 'हाम्रो स्वास्थ्य'एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिमा नियमित रूपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नुपर्नेछ।
होल्डिङ सेन्टरको व्यवस्थापन प्रदेश सरकार र स्थानीय प्रशासनको सहयोगमा सेनाले गर्ने भनिएको छ।
क्वारेन्टिनको व्यवस्थापन स्थानीय तहले गर्नुपर्नेछ भने क्वारेन्टिनमा बस्नेको लजिस्टिक,खानपिनलगायत अन्य आवश्यक व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ।
विभिन्न निकायको सहकार्यमा क्वारेन्टिनहरूको सञ्चालन नियन्त्रण र निर्देशनको जिम्मा सेनालई दिइएको छ।
क्वारेन्टिनमा रहेका व्यक्तिका लागि दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँ खाना खर्च संघीय सरकारले उपलब्ध गराउने भनिएको छ।
सीमानाकादेखि होल्डिङ सेन्टर हुँदै स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयमले व्यहोर्नुपर्नेछ।
* सच्याइएको