भारतमा चौथो चरणको लकडाउन भोलि आइतबार (मे ३१) सम्म जारी छ।
लकडाउनले करोडौं मानिसलाई मारमा पारेको छ। मुख्यगरी भारतभित्रै एक ठाउँबाट अर्को ठाउँमा काम गर्ने श्रमिक यसको चरम मारमा परेका छन्।
हजारौं श्रमिक आ-आफ्नो घर जान राजमार्गमा हिँडेका तस्वीर र रिपोर्ट आएपछि केन्द्र सरकारले केही दिनअघि रेल सेवा पुन:सुरू गरेको थियो। मे ३१ मा चौथो चरण सकिएपछि लकडाउन कसरी खुकुलो गर्ने, कुन- कुन क्षेत्रमा कम गर्दै लैजाने भन्ने गृहकार्यमा जुटेको भारत सरकारसामु नयाँ चुनौती थपिएको छ।
कोरोना भाइरसको संक्रमण घट्नुको सट्टा बढ्दै गएको छ।
शुक्रबारमात्र दैनिक संक्रमणले नयाँ रेकर्ड राखेको छ। एकैदिनमा आठ हजारमा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक लाख ७३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पाँच हजार पुगेकोछ।
दुई हप्ताभन्दा कम समयमा संक्रमितको संख्या दोब्बर हुन थालेको छ। भारत विश्वकै आठौ धेरै संक्रमित देश बनेको छ।
दैनिक धेरै संक्रमित हुनेमा ब्राजिल, अमेरिका र रसियापछि भारत प्रमुख मुलुक बनेको छ।
अहिलेकै दरमा संक्रमण कायम रहेमा भारत संसारका तीन सबभन्दा धेरै संक्रमितको देश हुने सम्भावना भएको विज्ञहरूले बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको आगामी मोडालिटी कस्तो हुने भनेर मुख्यमन्त्री र विज्ञहरूसँग छलफल गरिरहेका छन्। शुक्रबारमात्रै गृहमन्त्री अमित शाहले मोदीलाई मुख्यमन्त्रीहरूसँग भएको परामर्शबारे जानकारी गराएका थिए।
भारतमा सबभन्दा धेरै संक्रमण देखिएको महाराष्ट्र सरकारले लकडाउन अहिलेनै खुकुलो गर्न नसकिने बताइसकेको छ।
भारतीय पत्रिका टाइम्स अफ इण्डियाले पाँचौं चरणको लकडाउनमा पर्यटन तथा होटल र रेष्टुरेन्ट क्षेत्रमा केही खुकुलो गर्ने तयारी सरकारले गरिरहेको जनाएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली स्थायी ‘लकडाउन'मा बस्न नसक्ने बताए पनि लकडाउन कहिले र कसरी खुकुलो पार्ने भन्नेबारे केही बताएका छैनन्।