नेपाली सेनाका एक उपरथी अवकाशपछि आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन्।
नेपाली सेनाका अवकासप्राप्त प्राविधिक उपरथी सुधिर श्रेष्ठलाई सैनिक अदालतले दोषी ठहर गर्दै ५८ लाख ५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको छ।
सैनिक उच्च स्रोतका अनुसार श्रेष्ठमाथि हवाई महानिर्देशनालयमा महानिर्देशक रहँदा अनियमितता गरेको आरोप लागेको छ। श्रेष्ठले गत मंसिरमा सैनिक सेवाबाट राजीनामा दिएका थिए।
जेठ महिनामा सैनिक अदालतले भ्रष्टाचार आरोपमा सजाय तोकेको यो दोस्रो घटना हो।
यसअघि जेठ ६ गते सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको आर्थिक अनियमितताको आरोपमा एक कर्नेललाई सेनाबाट बर्खास्त र दुई महिना जेल सजाय सुनाएको थियो।
उनीबाट झण्डै २ करोड असुल उपर गर्ने फैसला भएको थियो। उनीसँगै तीन जना अधिकृत र अन्य दर्जाका दुई जनालाई असुल उपर र अन्य कारबाही भएको थियो।
आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेल झण्डै १० दिनदेखि सैनिक हिरासतमा छन्।