कोरोना भाइरसका कारण दुई महिनादेखि मुलुक लकडाउनमा छ।
कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणको लागि भनेर सरकारले चैत ११ देखि लागू गरेको लकडाउन जेठ २० सम्म जारी छ।
तर केही दिनयता भने काठमाडौंका सडकमा सवारी साधन बढी देखिन थालेका छन्।
लकडाउन जारी भएको बेला पनि कसरी काठमाडौंका सडकमा सवारी साधनको चाप बढ्यो त?
हामीले यही प्रश्न गृह मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीलाई सोधेका छौं।
गृह सह-प्रवक्ता अधिकारीले काठमाडौंमा सरकारले लकडाउन खुकुलो नपारेको स्पष्ट पारेका छन्।
'सरकारले गरेको निर्णय तलमाथि भएको छैन। जेठ २० गतेसम्म लकडाउन जारी रहन्छ,त्यसपछि सरकारले गर्ने निर्णयका आधारमा हुन्छ,'उनले भने,'सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई खोल्न दिने भनेकाले सवारी साधन बढी देखिएका हुनसक्छन्।'
वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनका बेलामा चलाउन सकिने उद्योगहरूको नामावली सार्वजनिक गरेको थियो।
जसअनुसार कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवा,ढुवानी सेवा, विकास आयोजना,औद्योगिक उत्पादनसम्बन्धी लगायत १० क्षेत्रलाई सञ्चालन गर्न दिने भनिएको छ।
लकडाउनकै बेलामा काठमाडौंका सडक मर्मत गर्नेदेखि ढल खन्ने सम्मको काम पनि भइहरेको छ।
रानीपोखरीको पुनर्निर्माण,धरहराको पुनर्निर्माण, प्रधानमन्त्री निवासको निर्माणका काम पनि भइरहेका छन्। यी सबै कामका लागि आउने जाने गर्ने कामदार अनि यस्ता कामका लागि चाहिने कच्चा पदार्थ लगायतको ढुवानीका लागि समेत सडकमा सवारी साधन गुडिरहेका छन्।
अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरेको छ। अन्य कामका लगि नियमन निकायको पासको जरुरी पर्छ।
ट्राफिक प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार सडकमा सवारी पास लिएर हिँड्नेहरू बढिरहेका छन्। एउटा उद्योग खुलेसँगै त्योसँग सम्बन्धित रहेका अन्य व्यवसाय पनि सुचारु हुने भएकाले सडकमा सवारी साधन बढिरहेको उनको भनाइ छ।
'जस्तो,सडक निर्माणको काम हुँदा खाली त्यो सडकको काम मात्रै हुँदो रहनेछ। त्यसका लागि गिटी बालुवा बोक्ने गाडी गुड्न पर्यो। गाडी गुडेपछि वर्कसप खुल्नै पर्यो। पेट्रोल,डिजेलका लागि पेट्रोलपम्प खुल्नै पर्यो,'उनले भने,'आवश्यकताका आधारमा नियमनकारी निकायले पास दिने भएकाले यो संख्या हरेक दिन बढ्ने निश्चित छ।'
लकडाउनको नियम उल्लंघन गर्नेहरू हरेक दिन बढे पनि सडकमा बढेको सवारी चाप ट्राफिक नियम उल्लंघनका कारण नभएको उनको दाबी छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार मोटरसाइकल अन्य गाडी गरी लकडाउन उल्लंघन गर्ने ९७८ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो। यो संख्या मंगलबार ८ सय ८५ रहेको थियो।
काठमाडौं महानगरपालिकाले केही समययता उपत्यका आउने सडक सिल गरेर आन्तरिक रूपमा आर्थिक गतिविधि बढाउनुपर्ने जोड दिँदै आएको महानगरका प्रवक्ता एवम् वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले सेतोपाटीलाई बताए।
'काठमाडौं आउन नदिने अत्यावश्यक कामका लागि कोही आउने भएमा पिसिआर रिपोर्ट लिएर आउनुपर्ने भनेका छौं। यसो भएमा यहाँको आर्थिक गतिविधिलाई खुकुलो गर्न सकिन्छ भन्ने हाम्रो भनाइ हो,'महानगरका प्रवक्ता डंगोलले भने,'यहाँका उद्योगालई सामाजिक दूरी कायम गरेर ,सुरक्षा कवचहरूको प्रयोग गरेर सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो आशय हो। किनकी हामीले अब श्रमिक र जनभावना दुवैलाई बुझ्नुपर्छ।'
वैशाख २४ सम्म शान्त रहेको काठमाडौं २५ गते पछाडि एकाएक त्रसित बनेको उनले बताए। यसको प्रमुख कारण लकडाउनकै बेलामा काठमाडौं भित्रिनेहरू भएको उनले बताए। काठमाडौं उपत्यकामा देखिएका संक्रमित लकडाउनकै बेला काठमाडौं भित्रिएका थिए।
लकडाउनका बेला सडकमा जाम भएपछि वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन कहाँ छ भनेर मन्त्रीहरूलाई व्यंग्य गर्दै प्रश्न गरेका थिए।
यो पनि:
लकडाउनमा के खोल्न मिल्छ के मिल्दैन, हेर्नुस् मन्त्रिपरिषदले जारी गरेको नियम र सूची