भारतको महाराष्ट्र सरकारकाले पत्रकार अर्नव गोस्वामीविरूद्धको आत्महत्या दुरूत्साहन मुद्दाको फेरि अनुसन्धान गर्ने भएको छ।
दुई वर्षअघि एक आर्किटेक्ट र उनकी आमाले आत्महत्या गरेका थिए। आर्किटेक्टले लेखेको सुसाइड नोटमा अर्नवको स्वामित्वमा रहेको रिपब्लिक टिभीको प्यारेन्ट कम्पनी एआरजी आउटलायर मिडियाले दिनुपर्ने ५.४ करोड भारू नदिएकाले आफूहरूले आत्महत्या गर्नु परेको उल्लेख थियो।
मंगलबार ट्वीट गर्दै महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले मृतककी छोरीले दिएको नयाँ उजुरीका आधारमा गोस्वामी र उनको रिपब्लिक टेलिभिजनविरूद्ध नयाँ अनुसन्धान थालिएको जानकारी दिए।
मृतककी छोरीले अलिबाग प्रहरीले अर्नवको कम्पनीले आफ्ना बुवालाई दिनु पर्ने रकमबारे अनुसन्धान नै नगरेको उजुरीमा उल्लेख गरेकी छन्।
‘मैले सिआइडीलाई उक्त घटनाको फेरि अनुसन्धान गर्न निर्देशन दिएको छु,’ मन्त्री देशमुखले भनेका छन्।
यसअघि मेको सुरूतिर मृतककी श्रीमतीले आफ्ना उद्यमी पति र सासुको ज्यान जानुमा अर्नवले पैसा नदिनु नै मुख्य कारण भएको भन्दै भिडिओ बनाएकी थिइन्। महाराष्ट्र कंग्रेसले आफ्नो ट्वीटरमा उक्त भिडिओ राखेको थियो।
जवाफमा रिपब्लिक टिभीले च्यानलमाथि दबाब दिन नियोजित रूपमा उक्त भिडिओ ल्याइएको बताएको थियो। प्रहरीले नै अनुसन्धान सकेर रिपोर्ट दिएपछि पहिलाको मुद्दा अदालतले नै बन्द गरिसकेकाले फेरि त्यही कुरा दोहोर्याएर च्यानललाई निसाना बनाइरहे मानहानीको मुद्दा चलाउने उसको चेतावनी थियो।
पछिल्लो समय महाराष्ट्रको सत्ता चलाइरहेको कंग्रेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटू समर्थक गोस्वामीबीच ‘टसल’ देखिएको छ।
गत महिना गोस्वामीले पालघर हत्याकाण्डबारे कंग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको बदनाम गराउने टिप्पणी गरेका थिए। उक्त हत्याकाण्डमा दुई साधु र उनीहरूका ड्राइभर मारिएका थिए।
घटनाबारे टेलिभिजन कार्यक्रम प्रसारण गरेपछि गोस्वामीले एउटा भिडिओ सार्वजनिक गर्दै मुम्बईमा घर फर्किरहेका बेला कंग्रेसका कार्यकर्ताले आफूलाई आक्रमण गरेको आरोप लगाएका थिए।
पछि प्रहरीमा दिएको उजुरीमा उनले सोनिया गान्धीको बदनाम गरेको भनेर आफूविरूद्ध कंग्रेस कार्यकर्ताले हालेका १०० बढी उजुरी फिर्ता लिनुपर्ने माग राखेका थिए। अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताको अधिकारका आधारमा ती उजुरी फिर्ता हुनुपर्ने उनको तर्क थियो।
गत साता सर्वोच्च अदालतले गोस्वामीविरूद्धको मुद्दाको अनुसन्धान मुम्बई प्रहरीबाट सिबिआईमा हस्तानान्तरण गर्न अस्वीकार गरेको थियो भने उनीविरूद्धका विभिन्न उजुरी खारेज गरेको थियो।