अत्यावश्यकबाहेक तुलसीपुर क्षेत्रका अन्य पसल पनि आलोपालो खोल्ने निर्णय भएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघको बुधबार बसेको बैठकले सातामा दुई दिन फेन्सी, कस्मेटिक, प्लाष्टिक,भाँडा पसल, जुत्ता चप्पल पसल र कपडा पसल खोल्ने निर्णय गरेको छ।
हप्ताको आइतबार र बिहीबार मात्रै यी पसल खोल्ने निर्णय गरिएको हो।
यी पसल खुल्ने दिनमा दैनिक उपभोग्य सामग्री खाद्यान्न र किराना पसल भने बन्द रहने निर्णय गरिएको संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए।
बैठकले हार्डवेयर व्यवसायीहरूले भने पसल नखोलेरै गोदामबाट आवश्यक निर्माण सामग्री विक्री-वितरण गर्न पाउने यसअघिकै निर्णयलाई कायम राखेको छ।
दुई महिनाभन्दा लामो लकडाउनले अन्य व्यवसायी समेत आर्थिक मारमा परेको व्यापक गुनासोपछि उद्योग वाणिज्य संघले स्थानीय पालिका र प्रहरी प्रशासनसँगको समन्वयमा अन्य पसल पनि खोल्ने निर्णय भएको अध्यक्ष रावतले बताए।
संघले लकडाउनलाई पालना गर्दै सामाजिक दूरी कायम राखेर आलोपालो खोल्न आग्रह गरेको छ।