वीरगन्जमा उपचाररत २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।
जसमा एकजना १५ महिने र अढाई वर्षका बच्चा पनि छन्।
उनीहरू वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत थिए।
मंगलबार राति ११ बजेतिर उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।
डिस्चार्ज हुनेमा ५ जना महिला र बाँकी सबै पुरुष छन्।
अब अस्पतालमा ९ जना संक्रमित बाँकी छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।
संक्रमितको संख्या भने ७ सय ८३ पुगेको छ। बुधबार बिहान मात्र एकजना संक्रमित थपिएकी छिन्।
उनी हेटौंडा उपमहानगरपालिका-१ निवासी २५ वर्षीया युवती हुन्। उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्।