काठमाडौंका चार जनासहित सोमबार एकैदिन ७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।
सोमबार बिहान ७२ जना र दिउँसो थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। थपिएका संक्रमितहरूमा काठमाडौंका चार जना छन्, जसमा टोखाका दुई, बुढानिलकण्ठका एक र बाराको कलैयामा कार्यरत काठमाडौं घर भएका एक जना छन्।
बुढानिलकण्ठमा पुष्टि भएका संक्रमित पुरुष यसअघि आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर बिरामी अस्पताल पुर्याउने काम गर्थे। उनले उपत्यकाका तीनवटै जिल्लाबाट विभिन्न रोगका बिरामीलाई अस्पताल पुर्याउने काम गरेको सेतोपाटीलाई जानकारी दिएका छन्।
बाँकी थपिएका संक्रमितमा रौतहटका २६, बाराका २३, दैलेखका ७, बर्दियाका ४, बाँकेका ४, धनुषाका ३, कपिलवस्तुका ३, सप्तरीका २ र अछाम तथा पर्साका एक-एक जना छन्।
यीमध्ये बाँकेका ४ र बर्दियाका एक जना संक्रमित भने आइतबार साँझ नै पुष्टि भएका हुन्। उनीहरूको सोमबार बिहान मात्र मन्त्रालयले औपचारिक जानकारी गराएको हो।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ। जेठ ४ गते वीरगन्जको नेसनल अस्पतालमा मृत्यु भएका बाराको करैयामाई-७ का ७५ वर्षीय वृद्धमा सोमबार कोरोना पोजेटिभ देखिएको हो।
संक्रमणबाट निको हुनेको संख्या भने १ सय १२ छ।