शुक्रबार देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले शुक्रबार थप ५९ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो। संक्रमितमध्ये सर्वाधिक १५ जना सर्लाही र १४ जना बाँकेका छन्।
यसैगरी कपिलवस्तुका ९, बाराका ६, कैलाली र नवलपरासी सुस्ताका तीन-तीन, चितवनका २ र डडेलधुरा, बैतडी, मकवानपुर, सप्तरी, नवलपरासी सुस्ता पूर्व, मोरङ र भक्तपुरका एक-एक जनामा पनि संक्रमण देखिएको हो।
भक्तपुरकी संक्रमण पुष्टि भएकी ४२ वर्षीया महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। यस्तै चितवनका संक्रमित ७४ वर्षीय र ७३ वर्षीया वृद्धा दम्पत्ति हुन्। उनीहरू भारतको नयाँ-दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए।
तीमध्ये ७४ वर्षीय श्रीमान क्यान्सर पीडित हुन्। अहिले उनीहरू दुवै भरतपुर अस्पतालको आइसोलेसनमा छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।
हिजो बिहीबार ३० जना संक्रमित थपिएका थिए। आज संख्या बढेसँगै संक्रमित संख्या ५ सय नाघेको हो।