बाँकेको नरैनापुर गाउँपालिकाका ४७ जना कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउने क्रम सुरु भएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले संक्रमितलाई ल्याउन बेलुका ६ बजेतिर तीन वटा एम्बुलेन्स पठाइएको जानकारी दिए। संक्रमितलाई ओसार्न एम्बुलेन्सले केही खेप गर्ने उनले बताए।
उनीहरुलाई ल्याएर लायन्स डेन्टल अस्पताल नेपालगन्ज र कोहलपुरस्थित पिपरीको कृषि विकास बैंकको सभाहलमा निर्मित आइसोलेसनमा ल्याएर राखिने प्रजिअ खड्काले सेतोपाटीलाई बताए। कहाँ कति राख्ने भन्ने अझैं टुंगो नलागे पनि लायन्स डेन्टल अस्पतालमा दुई दर्जन जति आइसोलेसन बेड तयार रहेको खड्काले बताए।
सोमबार नै संक्रमण पुष्टि भएका ४७ जनालाई झन्डै २४ घन्टापछि आइसोलेसनमा ल्याउन थालिएको हो। उनीहरु क्वारेन्टिनमै बस्दै आएका थिए।
बाँकेमा आइसोलेसन बेडको अभाव रहेकोले संक्रमितलाई कहाँ लैजाने भन्नेमा अन्यौल रहँदै आएको थियो। हतार– हतार दुई ठाउँमा आइसोलेसन बेडहरु तयार पारेर संक्रमितलाई ल्याउन थालिएको हो।
संक्रमितलाई लैजान खोज्दा आफन्तले गरे अवरोध
संक्रमितलाई ल्याउन खोज्दा स्थानीयले अवरोध गरेका छन्। उनीहरुले संक्रमितलाई घरै लैजान अडान लिएको सहायक प्रमुख जिल्लाअधिकारी दिर्घराज पौडेलले जानकारी दिए। ‘संक्रमितका आफन्तले दिनभर सम्झाउँदा पनि मान्दै मान्नु भएन, हामी घरमै लगेर जान्छौं भन्ने जिद्दी गर्नु भयो,’ पौडेलले भने ‘ त्यही भएर पनि ल्याउन ढिला भएको हो।’
नरैनापुर छोडेर बाहिर जान दिदैनौं भन्दै स्थानीय विरोधमा उत्रिएको र नरैनापुरमै राख्छौं भन्दापनि घरमै लैजाने अडान लिएको उनले बताए ।
आफन्तको विरोधपछि कतिपय संक्रमितले समेत नरैनापुर भन्दा बाहिर जान नमानेको एक अर्का सुरक्षा अधिकारीले बताए।
‘संक्रमितले नरैनापुर छोडेर बाहिर जाँदैनौं भन्ने अडान लिए,’ ती सुरक्षाअधिकारीले भने ‘ बाहिर गए खान दिँदैनन्, भन्ने खालका अफवाह पनि सुनाए। अहिले सम्झाई बुझाई गरेर लैजाँदै छौं।’
संक्रमितलाई ल्याउन ढिलाई हुनुको अर्को कारण कोहलपुरबासीको विरोधले गर्दा पनि हो। कोहलपुरका स्थानीयले नेपालगन्जमै संक्रमितलाई राख्नुपर्ने र कोहलपुर ल्याउन नपाइने भन्दै विरोध गरेपछि केही समस्या भएको ती अधिकारीले बताए। पछि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत लगायतको अग्रसरतामा समस्या समाधान भएको थियो।