दुई दिदीबहिनीको हत्या आरोपमा बाबु र दाजुसहित तीन जनालाई पाकिस्तानी प्रहरीले पक्राउ गरेको छ।
सामाजिक संजालमा सार्वजनिक भएको एक भिडिओका आधारमा उनीहरूलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ।
'अनर किलिङ' अन्तरगत ती दिदीबहिनीको गोली हानी हत्या भएको जनाइएको छ।
भारत र पाकिस्तान लगायतका मुलुकमा परिवारका सदस्यले नै आफ्नो धार्मिक, सामाजिक र पारिवारिक मूल्यमान्यता विपरित जाने महिलाहरूको ज्यान लिने गरेका छन्। यसैलाई 'अनर किलिङ' अर्थात 'पारिवारिक इज्जतका खातिर गरिने हत्या' भनिन्छ।
प्रहरीले सो घटना भिडिओ खिच्ने एक पुरुषलाई पनि पक्राउ गरेको छ।
१६ र १८ वर्षका ती दुई दिदीबहिनीको बिहीबार खैबर पख्तूनख्वा प्रान्तको उत्तरी वजिरीस्थानको दुर्गम आदिवासी क्षेत्रमा गोली हानी हत्या गरिएको थियो।
स्थानीय प्रहरी सफिउल्लाह गन्डापुरले सोमबार सो घटनामा संलग्न एक व्यक्ति अझै फरार रहेको जनाएका छन्।
पाकिस्तानमा बर्सेनी 'अनर किलिङ'का नाम मा सयौं महिलाहरूको हत्या हुने गरेको छ। विशेषगरी भागी विवाह, यौन सम्बन्ध जस्ता विषयमा उनीहरूको हत्या हुनेगरेको छ।
यस्ता थुप्रै घटना प्रहरीसम्म नपुग्ने गरेको तथ्य छ।
सन् २०१६ मा सामाजिक संजालमा चर्चित रहेकी कन्देल ब्लोचको आफ्नै दाजुभाइबाट हत्या भएपछि सरकारमाथि 'अनर किलिङ'प्रति कडारुपमा प्रस्तुत हुनुपर्ने दबाब सिर्जना भएको थियो।
घटनाले सरकारमाथि त्यस्ता हत्यालाई निरुत्साहित गर्ने र कानुन कडा बनाउनुपर्ने दबाब परेको थियो।
'हाम्रो नियत स्पष्ट छ। हामीले सामाजिक संजालबाट घटनाका बारेमा सुन्यौं र त्यसको सत्यता खोज्ने काम गर्यौं', रोयटर्ससँग गन्डापुरले भने।
'हामी घटनास्थलमा पुग्यौं र त्यहाँ रगतका दागहरूको साथमा रगत लतपतिएका कपडाहरू भेट्यौं। हामीले उनीहरूको हत्यामा संलग्न बाबु र दाइलाई पक्राउ गरेका छौं। हामीले भिडिओ बनाउने उमर एयाजलाई पनि समातेका छौं', उनले भने।
त्यसैगरी सो भिडिओमा देखिएकी अर्की युवतीको पनि प्रहरीले खोजी गरिरहेको छ।