कोरोनाभइरसको संक्रमणमा फरक-फरक रहस्य देखिएपछि त्रिवि शिक्षण अस्पतालले अनुसन्धान र सतर्कताको दायरा पनि बढाएको छ।
अस्पतालमा सुत्केरी भएकी महिलाको अस्पतालबाट डिस्चार्ज भएको १० दिनपछि कोरोनाभाइरसका कारण मृत्यु भएपछि उनको सम्पर्कमा आएकाको खोजी भइरहेको छ।
ती महिलाको सम्पर्कमा आउनेहरूको पहिचान गरिएको र उनीहरूको कोरोना परीक्षण गर्न लागिएको त्रिवि शिक्षण अस्पतालमा कोभिड-१९ व्यवस्थापन समितिका संयोजकसमेत रहेका छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासले सेतोपाटीलाई बताए।
'हामीले उहाँका सबै फाइल मगाएका छौं। हिजो दिनभरि हामी त्यसैमा लाग्यौं। टिचिङमा आउँदा र त्योभन्दा पहिलाका फाइल पनि अनुसन्धान गरिरहेका छौ,' दासले भने,'भर्ना हुनुभन्दा दुई दिनअगाडि पनि उहाँ आउनुभएको रहेछ। अस्पतालमा २३ गते भर्ना भएर २५ गते डिस्चार्ज्ड हुनुभएको हो।'
अस्पतालबाट डिस्चार्ज्ड हुँदा महिलामा खोकी ज्वरोलगायतका कुनै लक्षण नदेखिएको भन्दै उनले अस्पतालबाट डिस्चार्ज्ड भएको ५ दिनपछि समस्या देखिएकाले अनुसन्धान गरिरहेको बताए।
'हामीले उहाँको सम्पर्कमा आएका सबैलाई लिस्टिङ गर्यौ। उहाँको सम्पर्कमा आएका ४५ जनाको आज टेस्ट गर्दैछौं।’
अस्पतालबाटै कोरोनाभाइरस देखिएको भए अस्पतालमा कार्यरत डाक्टर/नर्समा पनि कुनै लक्षण देखिनु पर्ने उनले बताए।
'प्रसुति विभागमा कार्यरत सहयोगीदेखि चिकित्सक सबैलाई व्यक्तिगत रूपमा सोधेका छौं। कसैलाई पनि केही लक्षण देखिएको छैन,' उनले भने,'आज हामीले सबैको पिसिआर परीक्षणका लागि पठाउँछौं। त्यसको रिपोर्ट नआउँदासम्मको लागि प्रसुति गृहबन्द गरेका छौं। डिसइन्फेक्सन गरेर मात्रै विभागलाई सुचारू गर्छौं।'
महिलालाई अस्पताल आउनुभन्दा पहिला नै कोरोना लागेको हुनसक्ने चिकित्सकहरूको अनुमान छ। संक्रमित महिला डिस्चार्ज भएको १० दिनसम्म पनि सम्पर्कमा आएकाहरूलाई कुनै लक्षण नदेखिनु अर्को रहस्य भएको डाक्टर दासले बताए।
उनले अस्पताल ठूलो भएको र विभागहरू धेरैतिर भएकाले कोरोना भाइरसको संक्रमण रोक्न सक्दो प्रयास भइरहेको समेत जानकारी दिए।
'हामीले सुरूमै ज्वरो परीक्षण गर्ने गरेका छौं। ओपिडिमा पनि ज्वरो नाप्ने व्यवस्था गरेका छौं। आकस्मिकमा पनि यही गर्छौं। दोहोरोतेहोरो स्क्रिनिङ गरेका छौं। तर समस्या के छ भने,लक्षण देखिए पो थाहा हुन्छ,' उनले भने,'लक्षण नदेखिने समस्या संसारभरि नै छ। अस्पतालमा आउने सबैको पिसिआर गर्न सम्भव हुँदैन।'
अस्पतालमा बिरामी पनि कम भएकाले नियन्त्रण गर्न धेरै समस्या नरहेको उनले बताए। सबै विभागमा कार्यरत स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गर्ने तयारी अस्पतालले गरेको छ।
त्रिवि शिक्षण अस्पतालमै कोरोना संक्रमित भएको बालिकाको बारेमा पनि चिकित्सक अनुसन्धान गर्दैछन्। बालिकालाई छातीमै टाँसेर सुताउने आमा र हजुरबाको परीक्षण नेगेटिभ आएको छ तर कुरूवालाई पोजेटिभ देखिएको छ। बालिकाको सम्पर्कमा आएका १ सय २० जनाको पिसिआर परीक्षण गर्दा १ जनाको पोजेटिभ देखिएको थियो।
‘हामीले अनुसन्धान गरिरहेका छौं। बालिकालाई छातीमा टाँस्ने आमालाई भएको छैन। तर कुरूवालाई भएको छ। त्यही भएर अर्को छुट्टै स्रोत हो की भनेर ट्रेसिङ गरेका छौं।'
यो रोग आफैंमा रहस्यमयी भएको भन्दै डाक्टर दासले थप सतर्कता अपनाउन जरूरी रहेको बताए।