दाङ तुलसीपुरका ४६ वर्षीय संक्रमित पुरूष गत चैत २५ गते नै आफ्ना बहिनी ज्वाइँको कुरुवाको रूपमा शिक्षण अस्पताल पुगेको खुलेको छ।
शान्तिनगर गाउँपालिका निवासी आफ्ना बहिनी ज्वाइँको कुरुवाको रूपमा उनी बाँके हुँदै काठमाडौंको शिक्षण अस्पताल पुगेका थिए।
गाउँ घरमा ज्याला मजदूरीको काम गर्ने ती व्यक्ति घर निर्माणको काम छोडेर बिरामी ज्वाइँलाई लगेर सुरूमा बाँके र त्यसपछि उतैबाट काठमाडौं गएको स्थानीयले जानकारी दिए।
‘उहाँलाई यहाँको संक्रमण हुँदै होइन, त्यो संक्रमण अस्पतालकै हुनुपर्छ,’ एक स्थानीयले भने,‘उहाँको र हाम्रो घर लगभग सटेको छ, उहाँका परिवारका सदस्य कसैमा पनि कुनै समस्या छैन। हाम्रो घरमा आउने जाने भइरहन्छ।’
केही समय पहिला मात्रै दुबईबाट आएका उनका बहिनी ज्वाइँमा मिर्गौला र टाउकोसम्बन्धी समस्या छ।
त्यसैले उनी बहिनी ज्वाइँसँगै चैत २५ गते कुरुवाको रूपमा सुरूमा बाँकेस्थित कोहलपुर मेडिकल कलेज र त्यसपछि उतैबाट काठमाडौंस्थित शिक्षण अस्पताल पुगे। शुक्रबार उनका बहिनी ज्वाइँको रिपोर्ट नेगेटिभ आएको थियो। तर ती व्यक्तिको भने पोजेटिभ आयो।
केही दिनअघि टिचिङमा कपिलवस्तुकी ७ वर्षीया बालिकामा कोरोना पुष्टि भएको थियो। त्यसैले संक्रमित व्यक्तिका गाउँलेहरूले त्यतैबाट उनमा पनि संक्रमण भयो कि भन्ने आशंका व्यक्त गरेका छन्।
शनिबार कन्ट्याक्ट ट्रेसिङ गर्दै संक्रमितको गाउँमा पुगेको स्वास्थ्यकर्मी तथा प्रहरी प्रशासनसमक्ष स्थानीयले सोही कुरा बताएका थिए। बिरामी लगेर गएका उनी यो बीचमा घर आएका छैनन् ।
स्वास्थ्य मन्त्रालयको गलत सूचनाले संक्रमित खोज्नै सकस
स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका ८ बजे जारी गरेको विज्ञप्तिमा संक्रमित व्यक्ति तुलसीपुर ७ का ३४ वर्षीय एक पुरूष भन्ने थियो। त्यही आधारमा संक्रमितलाई खोजी गर्दा झन्डै १८/२० घन्टा जति अन्यौल र अलमलमै गुज्रियो।
शनिबार दिउँसोमात्रै संक्रमित व्यक्ति तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का ४६ वर्षीय पुरूष भएको पुष्टि भयो।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले संक्रमित व्यक्तिबारेमा शुक्रबार राति स्ट्याटस लेखेपछि धेरैले त्यसैलाई पछ्याउँदै समाचार लेखे। तर, संक्रमित भनिएका व्यक्तिले नै काठमाडौंबाट फोन गरी शनिबार बिहान आफ्नो रिपोर्टको नतिजा नेगेटिभ आएको बताए।
शिक्षण अस्पतालले पनि आफ्ना कुनै पनि कर्मचारीमा संक्रमण नभएको विज्ञप्ति जारी गर्यो।
स्वास्थ्य मन्त्रालयको गलत सूचनाले वडावासी, स्वास्थ्यकर्मी र प्रहरी प्रशासनलाई संक्रमित पत्ता लगाउन निकै सकस झेल्नु पर्यो। शुक्रबार खबर सार्वजनिक भए लगत्तैदेखि खोजी थालेका उनीहरूले शनिबार बिहान दश बजेसम्म खोज्दा पनि संक्रमित पहिचान गर्न सकेनन्।
त्यसपछि स्वास्थ्य मन्त्रालयले शान्तिनगर गाउँपालिका वडा नं. ५ को ठेगाना दियो। जो काठमाडौंमा उपचाररत बिरामीको घरको ठेगाना थियो। संक्रमितका बहिनी ज्वाइँको।
शान्तिनगर गाउँपालिकाका स्वाथ्य प्रमुख हरि पुन लगायतको टोली फेरि त्यसलाई पछ्याउँदै हिँड्यो।
शुक्रबारमात्रै शान्तिनगर ५ का ती बिरामी विपन्न परिवारको रहेको भन्ने बेहोराको सिफारिस गाउँपालिकाले गरिदिएको हुँदा ठेगाना पत्ता लगाउन सहज भयो।
त्यसैका आधारमा शनिबार दिउँसो पुनले वास्तविक संक्रमित व्यक्ति पत्ता लगाउने सके। आफू संक्रमित भएकोबारे उनले बहिनीलाई भनेका रहेनछन्।
उनी अहिले काठमाडौंस्थित टेकु अस्पतालको आइसोलेसनमा रहेको पुनले जानकारी दिए।