दाङमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका गढवाका दुई युवा पाँच दिनअघि भारतबाट आएको खुलेको छ। उनीहरू गोरखपुर र मुम्बईबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ आएका थिए।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उनीहरूलाई कृष्णनगर नाकाबाट एम्बुलेन्समा ल्याएर सोझै क्वारेन्टाइनमा राखिएको जानकारी दिए। आफ्नै गाउँपालिकाका व्यक्ति कृष्णनगर नाकामा अलपत्र परेको खबर पाएपछि एम्बुलेन्स पठाएको र घर जान नदिएर क्वारेन्टाइनमा राखेको उनले बताए।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरका अनुसार एउटै एम्बुलेन्समा चार जनालाई दाङ ल्याइएको थियो। तीमध्ये दुई जनामा कोरोना पोजेटिभ देखियो भने बाँकी दुई जनाको रिपोर्ट नेगेटिभ आयो।
नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन्। खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिमा संक्रमण फेला परेको छ। भारतसँग सीमा जोडिएका तराई जिल्लामा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो।
यही अवस्था हेरेर भारतबाट सामूहिक रूपले वा लुकिछिपी प्रवेश गरेका व्यक्ति पहिचान गरेर कोरोना परीक्षण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतको पछिल्लो स्थिति चीनभन्दा नराम्रो छ। शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन्।
शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो। यो अहिलेसम्मकै उच्च दर हो।
भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४,६३३ जनाले ज्यान गुमाएका छन्। भारतमा यो संख्या २,७४६ छ। पछिल्लो २४ घन्टामै भारतमा सय जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
दाङमा बिहीबार मात्र नमूना संकलनका लागि सात जनालाई एउटै एम्बुलेन्समा राखेर लमही अस्पताल लगिएको थियो। तीमध्ये तीन जना सात दिनअघि भारतबाट कञ्चनपुर नाका हुँदै दाङ आएका थिए। उनीहरूमा भने कोरोना नेगेटिभ देखिएको छ।
उनीहरूलाई पनि जिल्लाबाटै गएको एम्बुलेन्सले सोझै ल्याएर क्वारेन्टाइनमा राखिएको राठोरले बताए।
तुलसीपुरको खबरबारे अन्यौल
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दाङमा एकै दिन तीन जनामा कोरोना पुष्टि भएको उल्लेख छ। तुलसीपुर उपमहानगरपालिका-७ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको भनिए पनि यहाँका स्थानीय प्रतिनिधि तथा सरकारी अधिकारीले यसबारे अनभिज्ञता प्रकट गरेका छन्।
‘हामीले नमूना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएका थियौं,’ तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले भने, ‘प्रतिष्ठानको विज्ञप्तिमा गढवाका दुई जना पुरुषमा मात्र संक्रमण देखिएको उल्लेख छ। स्वास्थ्य मन्त्रालयले भने तुलसीपुरका युवामा पनि देखियो भनेको छ, यसले अन्यौल सिर्जना गरेको छ।’
तुलसीपुर-७ का वडाध्यक्ष टोपबहादुर केसीले कोरोना पुष्टि भएको व्यक्तिबारे अन्यौल रहेको बताए। ‘कोरोना पुष्टि भएका व्यक्ति को हुन् भन्ने पत्ता लगाउन सकेका छैनौं,’ केसीले भने।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले भने तुलसीपुर-७ को भनिएका ३४ वर्षीय संक्रमित युवा काठमाडौंकै एक अस्पतालमा कार्यरत रहेको जानकारी आएको बताएका छन्।