नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापरीबीच झडप भएको छ। बिहान साढे १० बजेतिरको त्रिभुवन मोडभित्रको पुरानो सिनेमा हल नजिकै झडप भएको हो।
बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले निषेधज्ञाबारे जानकारी गराउन माइकिङ गर्दै र सम्झाउँदै हिँडेका प्रहरीमाथि स्थानीय अनाहकमा जाइ लाग्दा केहीबेर समस्या भएको बताए।
एसपी ओलीका अनुसार बिहान साढे १० बजेतिर पुरानो सिनेमाहल नजिकै किराना पसल अगाडि १०/१५ जना एकै ठाउँमा जम्मा भएर बसेका थिए। प्रहरीले उनीहरूलाई त्यसरी बस्न नपाइने भन्दै सम्झाउन खोज्यो। त्यही बीचमा एक जनाले ११ बजेसम्म पसल खोल्न पाउनु पर्छ भन्दै झगडा उत्रिए।
‘ती नै व्यक्तिले दुई जना प्रहरीमाथि हात हाले, हुत्याइदिए,’ एसपी ओलीले भने ‘अनि वडा प्रहरीका इन्स्पेक्टरले ती व्यक्तिलाई भ्यानमा हालेर लैजाँदै गर्दा उनका बाबु गाडीमा झुन्डिएर मलाई पनि लैजा भने। त्यही क्रममा उनी लडे र सामान्य घाइते भए।’
त्यसपछि थप प्रहरी फेरि अर्को भ्यान लगेर त्यहाँ पुग्यो। तर प्रहरीले प्रयोग गरेको उक्त भ्यान पुग्नासाथ स्थानीय ढुंगामुढामा उत्रिए।
स्थानीयले एक्कासि ढुंगा प्रहार गर्दा गाडीको सिसा फुटेको उनले जानकारी दिए।
मंगलबार बिहान ११ बजेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको र त्यसबारे जानकारी दिन माइकिङ गर्दै हिँडेका प्रहरीमाथि ढुंगा प्रहार भएको प्रहरीले दाबी गरेको छ।
प्रहरीका अनुसार नेपालगन्जको त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्मको क्षेत्रमा मंगलबार बिहान पसल खुलेको हुँदा उनीहरूलाई पसल बन्द गर्न आग्रहका साथ प्रहरी त्यहाँ पुगेको थियो।
ती पसल बन्द गराउने क्रममा प्रहरी र स्थानीय व्यापारीबीच भनाभन भएपछि विवाद बढेको एक स्थानीयले बताए।
‘बिहान ११ बजे पूर्व नै प्रहरी आएर स्थानीयमाथि अपशब्द प्रयोग गर्दै लखेट्न खोजेको हुँदा सर्वसाधारण आक्रोसित भएका हुन्,’ उनले भने।
नेपालगन्जमा बिहान ११ बजेदेखि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भए पनि स्थानीय व्यापारीहरूले त्यो भन्दा पहिला पसल खोल्न पाउनु पर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको उनले जानकारी दिए।
‘प्रहरीले लकडाउनमा कुनै पनि हालतमा पसल खोल्न पाइँदैन भन्नु र पसलेहरूले निषेधज्ञा सुरू हुनुपूर्व खोल्न पाउनु पर्छ भन्ने अडान राख्नु नै विवादको चुरो हो,’ उनले भने ।
अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए। एसपी ओलीले पनि अहिले नेपालगन्जमा पानी परिरहेको, सबै मानिसहरू घर भित्रै छिरेको तथा अवस्था सामान्य रहेको बताए।
कोरोना प्रभावित जोलहनपुरुवासँग जोडिएको घटनास्थल त्रिभुवनचोक, त्रिवेणी मोड क्षेत्रलाई दुई दिन अघि स्थानीय प्रशासनले सिल गरेको थियो।