दाङमा एम्बुलेन्स चालकलाई पिपिई, गोब्स, मास्क अनिवार्य गरिएको छ।
छिमेकी जिल्ला बाँके र रुपेन्देहीमा कोरोनाभाइरस संक्रमित फेला परेपछि दाङ प्रवेश गर्ने नाकामा उच्च सतर्कता अपनाइएको छ।
नेपालगन्जबाट आउने मुख्य नाका तुलसीपुर १३ फूलवारीको दमारगाउँमा कडा चेकजाँच सुरू गरिएको हो।
कोरोना विपद् व्यवस्थापन समिति तुलसीपुर उपमहानगरको शनिवार बसेको वैठकले खाद्यान्न, पेट्रोलियम पदार्थ, एम्बुलेन्सलगायतका सवारीलाई कडा चेकजाँच गर्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले बताए।
सवारी चालक र सह-चालकले सुरक्षा विधि अपनाएका छन् भने मात्रै प्रवेश गर्न पाउने उनले बताए।
‘सवारी चालकले अबदेखि मास्क, गोब्स, पिपिई अनिवार्य लगाउनुपर्ने नियम लगाइएको छ,’ उनले सेतोपाटीसँग भने।
तुलसीपुरस्थित जनस्वास्थ्य शाखाका अधिकृत विमल केसीका अनुसार एम्बुलेन्स चालकले पनि व्यक्तिगत सुरक्षा अपनाउनुपर्छ। ‘मास्क, गोब्स, पिपिई लगाए/नलगाएको चेकजाँच गरेर मात्रै प्रवेश गर्न दिन्छौं,’ उनले भने।
यो नियम शनिबारदेखि लागू भएको छ। एम्बुलेन्समा विरामी कुरूवा दुइजना भन्दा धेरै राख्न नपाइने उनले बताए। एम्बुलेन्स चालक, विरामीको रेकर्ड पनि राख्न थालिएको छ।
जिल्ला छिर्ने अन्य नाकामा पनि कडा चेकजाँच गर्न सुरू गरिएको छ। बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय पनि भएको छ। विरामी कुरूवाका रूपमा अस्पताल बसेकाहरू घर फर्केपछि होम क्वारेन्टाइनमा बस्नुपर्नेछ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काले भारतीय नम्बर प्लेटका गाडी प्रवेशमा रोक लगाएको बताए।