प्रधानसेनापतिका दाबेदार मानिएका उपरथी प्रभुराम शर्मा रथीमा बढुवा भएका छन्।
वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई रथीमा बढुवा गरेको रक्षा मन्त्रालय स्रोतले सेतोपाटीलाई बतायो।
सैनिक ऐनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रलायमा पेस भएको थियो।
यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको हो।
वर्तमान प्रधानसेनापति थापापछि शर्मा नै रोलक्रममा छन्। थापाको कार्यकाल २०७८ भदौसम्म रहेको छ। सेनामा दुई रथी रहने प्रावधान छ। दोश्रो वरियतामा रहेका रथी(बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदैछन्।
वैशाख १९ गते तण्डुलको अवकास भएपछि शर्माले रथीको कार्यभार सम्हाल्ने सैनिक स्रोतले सेतोपाटीलाई बतायो।
सेनामा पहिलो वरियतामा रहेका रथी(बलाधिकृत)शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अनिवार्य अवकास पाउँदैछन्।
गिरीले अवकास पाएसँगै शर्मा पहिलो वरियताका रथी बन्नेछन्। शर्माको कार्यकाल २०७८ पुषससम्म रहने भएकाले अहिलेको सैनिक ऐनअनुसार उनी प्रधानसेनापति बन्न सक्नेछन्।
शर्मा अहिले सम्भार रथी विभागको प्रमुख छन्।