दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ अम्मुवापुरमा सोमबार एउटा खोल्सामा पानी खान वन्यजन्तु रतुवा आयो।
केही स्थानीय युवाहरुले त्यसलाई देखे। रतुवा मार्ने उद्देश्यले उनीहरुले चारैतर्फबाट घेरा हाले। ढुंगा, मुढा हाने। रतुवा घाइते भएपछि घरेलु हतियार प्रयोग गरेर मारे।
रतुवा मरेपछि उनीहरुले मासु काट्न थाले। त्यो खवर वनका पदाधिकारीसम्म पुग्यो। गाउँलेहरु मिलेर मासु भागवन्डा गर्दै गर्दा वनको वनको गस्ती टोली त्यहाँ पुग्यो। भागवण्डामा व्यस्त बनेकाहरु एकाएक गस्ती टोलीलाई देखेपछि अक्कनबक्क भए। भाग्न खोजे, संभव भएन।
गस्ती टोलीले शान्तिनगर गाउँपालिका वडा नं. २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली र ओपेन्द्रबहादुर भण्डारीलाई नियन्त्रणमा लियो।
उनीहरुलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि घोराहीस्थित वन कार्यालयको हिरासतमा लगिएको छ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत धरणिधर चौधरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। दुई दिन पहिले मात्रै वनको गस्ती टोलीलेएक हरिणको उद्दार गरेको थियो। मार्नुअघि नै सूचना पाएपछि हरिणको उद्दार गरिएको थियो।
डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले त्यो हरिणको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको जानकारी दि । केही दिन पहिले मात्रै पश्चिम दाङबाटै उक्त गस्ती टोलीले भरुवा बन्दुकसहित चार जना सिकारीलाई जंगलवाट नियन्त्रणमा लिएको थियो।
उक्त टोलीले शनिबार विहान १ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १९ बाट एक चालक र स्काभेटर नियन्त्रणमा लिएको थियो।
दुवीचौर राष्ट्रिय वन खण्डमा बाटो खनिरहेको अवस्थामा वंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २५ वर्षीय चालक थमबहादुर घर्ती मगर र रा १ क ७५९ नम्बरको स्क्याभेटरलाई नियन्त्रणमा लिएको वनका पदाधिकारीहरुले बताएका छन्।
चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कन्फरेन्स मार्फत १५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।
लकडाउनको अवधिमा मात्रै वनको गस्ती टोलीले वन जंगलबााट काठ तस्करीमा प्रयोग भएका चार वटा ट्रयाक्टर र दशजना मानिसलाई नियन्त्रणमा लिइसकेको छ।
लकडाउनका बेला दाङका वनजंगलमा चोरीनिकासी बढेको यी घटनाले देखाउँछन्।