बिहीबार बेलुका तुलसीपुरको वीरेन्द्र चोक पुग्दा सडकपेटीमा झोला र पोका पुन्तरा असरल्ल थिए। थकित भएका पैदल यात्रु टुसुक्क बसेका थिए।
उनीहरुलाई खाना र पानी पुर्याउँदै गरेकामध्ये एक थिए तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाह।
उनीसँगै वडा सचिव सञ्जय गुप्ता पनि थकित यात्रुलाई खाना खुवाउन व्यस्त थिए।
‘थपीथपी खानुस् है,’ शाह भन्दै थिए ‘जति पनि छ मज्जाले खानुस्।’ घरकैजस्तो दाल, भात तरकारी खान पाउँदा पैदल यात्रु खुसी देखिन्थे।
तीन दिनपछि बल्ल उनीहरुले यसरी खाना खान पाएका थिए।
लकडाउनपछि चैत २४ गते दोलखाबाट हिँडेका मजदुर आठौं दिनमा तुलसीपुर आएका थिए। सडक निर्माणमा खटिने यो समूहमा सल्यान जिल्लाका १० जना छन्।
गाडी नपाए घर पुग्न उनीहरुलाई तुलसीपुरबाट अझैं दुई दिन लाग्ने छ।
समूहमा एक १४ वर्षीय बालक र अर्का सुस्त श्रवणका व्यक्ति पनि छन्। हिँड्दा हिँड्दै उनीहरुका खुट्टा सुन्निएका थिए। तै पनि कपडाले बाँधेर हिँडिरहेका छन्।
बाटोमा चिउरा र चाउचाउ खाँदै हिँडे, कतै जंगल त कतै सडकमै सुते।
ठाउँ–ठाउँमा दयालु मानिसहरु पनि भेटिए। कतिले क्लवमा बास दिए। खाना खुवाए। कति ठाउँमा लखेटे पनि।
तैपनि घरका सदस्यलाई यात्राको क्रममा खेप्नु परेका दुःख सुनाएकै छैनन्। सबैले सहयोग गरेको, मज्जाले बस्न र खान पाएको जस्ता राम्रा कुरा सुनाउँदै यहाँसम्म आइपुगेका छन्।
‘जति पीडा हुन्छ आफैले खेप्ने नि,’ बागचौर नगरपालिका ७, रानेटा गाउँका थलराज चन्दले भने ‘घरका आमाबुवा र बालबच्चालाई चिन्तामा किन पार्ने भन्ने सोचले दुःखका कुरा कहिल्यै गरेनौं।’
दोलखामा सडक निर्माणको काम रोकिएपछि ठेकेदारले सबैलाई बाटो खर्च भनेर २ देखि ३ हजार दिएर पठाए। काम रोकियो। के खाने, कसरी बाँच्ने भन्ने समस्याले पिरोलिएपछि उनीहरुले घर फर्किने निधो गरेका थिए।
‘घरमा पनि गहुँ भित्र्याउने चटारो छ, मकै रोप्ने, धानको व्याड राख्ने क्रमपनि सुरु हुन्छ,’ बागचौर नगरपालिका वडा नं. ७ तिर्थेटाकुराका २७ वर्षीय केशव वलीले भने ‘अर्कोतर्फ आमा १४ दिनदेखि विरामी भएकाले घर नफर्किन मनले मानेन।’
तुलसीपुर क्षेत्रमा ड्युटीमा खटिने प्रहरीलाई पनि वडा अध्यक्षको टिमले यसैगरी खाजा र खाना खुवाउँदै हिँडेको छ।
अघिल्लाे एक साँझ खाना बाेकेकाे गाडी तुलसीपुरको ग्रम्हाचोकमा पुग्याे। ८/१० कुकुर गाडीका पछि दौडिएर आए। आकाशमा कौवाहरु काँकाँ... गर्दै कराउन थाले। केही बेरमै गाडी रोकियो।
त्यही बीचमा पछाडिका खुट्टा नचल्ने एउटा खैरो कुकुर पनि घस्रिँदै गाडी नजिक आयो। त्यसलाई वडा अध्यक्ष शाहले सुमसुम्याए। आफू नजिक बसेर छुट्टै प्लेटमा कुखुराकाे मासु र भात दिए। कुकुरले खाना खाएपछि मात्रै उनी गाडीमा चढे।
अलपत्र परेका मानिस र चौपायाका लागि यसैगरी खानाको व्यवस्था गरिँदै आएको छ। तुलसीपुरकै सहुलियत जुस बारका सञ्चालक भूपेन्द्र बुढाथोकीले सहयोग अभियानको सुरुआत गरेपछि त्यसमा वडा अध्यक्ष शाह पनि मिसिएर निरन्तरता दिइएको हो।
अध्यक्षले खर्चको जोहोका लागि रमेश गुप्ता, ऋतु अधिकारी, विशाल गुप्ता, सन्दिप बैश्य, लालता गुप्ता लगायत ८–१० जनाको टिम बनाएर अभियान थालिरहेका छन्।
अलपत्र मानिस र चौपायका लागि खाना पकाउने काम टोलमै हुन्छ। तुलसीपुर ५ स्थित वडा कार्यालय अगाडि एउटा मन्दिर छ।
सत्ननाथ टोलका महिलाहरु दाउराले खाना पकाउन सघाउँदै आएका छन्। ‘हाम्रो आग्रहपछि महिला दिदीबहिनी आएर मानिस र जनावरका लागि साँझ विहान खाना बनाइदिनु हुन्छ,’ वडा अध्यक्ष शाहले भने। मानिसका लागि कहिले खिर पाक्छ, पुरी, अचार, तरकारी, त कहिले फ्राइ राइस।
दैनिक ४/५ हजार खर्च हुन्छ। त्यो सबै खर्च दश जना जतिको समूहले व्यक्तिगत रुपमा ब्यहोर्छन्। ‘कसैको घटी बढी होला, तर, हामी सबैले मिलेर पैसा उठाउँछौ,’ वडा अध्यक्ष शाहले भने ‘जसरी पनि बाँच्नु र बचाउनु पर्यो भन्ने भावनाले काम भइरहेको छ।’
गाईलाई भने संभव भए घाँस र त्यो संभव नभए काँचो आलु किनेर दिने गरिएको छ। गाईलाई जतिबेला जहाँ भेटिन्छन्, त्यही खाना र पानी दिने गरिन्छ।
ती सबै सामाग्री बोकेर बजार घुम्न वडा अध्यक्ष शाहले स्कूलको भ्यान प्रयोग गरेका छन्।
आफैले भ्यान चलाएर उनी बजारका कुना कुना पुगेर सडकका पशु चौपाया, बटुवा अनि ड्युटीका प्रहरीलाई खाना बाँड्दै हिँडेका भेटिन्छन्।