लकडाउनको मौका छोपी वन क्षेत्रमा व्यापक चोरी/तस्करी हुने गरेको पाइएको छ।
डिभिजन वन कायालय दाङले यो बीचमा चोरीका काठसहित दश जना मानिस र काठ ओसार्ने प्रयोग गरिएका केही ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले गस्ती टोलीले लकडाउन अवधिभर सयौं क्यूफिट काठ बरामद भएको जानकारी दिए।
सामुदायिक वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले लकडाउनको मौका छोपी तस्करहरूसँग मिलेर कतिपय वन समूहकै पदाधिकारीहरूले समेत गैरकानुनी काम गरेको भन्ने खबरले दु:खी बनाएको बताए।
अध्यक्ष सुवेदीले भने, ‘त्यस्ता वन समूहका व्यक्तिले मेरो फोन समेत उठाएका छैनन्। लकडाउनका कारण म जान पनि सकेको छैन।’
मौकाको फाइदा उठाएर तस्कर, वनका कर्मचारी, स्थानीय जनप्रतिनिधि र वनका पदाधिकारी समेत मिलेर चोरी तस्करीमा लाग्नु दुभार्ग्य भएको उनले बताए।
वनमा चोरी तस्करी र चोरी सिकारी गर्नेहरू जो भए पनि कानुन बमोजिम कारबाही हुनुपर्ने उनको माग छ।
लकडाउनले काम रोकिएपछि मजदूर समेत वनमा गएर लुकिछिपी काठ काट्ने,तस्करी गर्ने तथा वन्य जन्तुको सिकार गर्ने क्रम ह्वात्तै बढेको छ। त्यो रोक्न पछिल्लो समय गस्ती बढाइएको छ।
सामुदायिक वनका जिल्ला प्रवक्ता हेमराज शर्माले दुई हप्ता लामो लकडाउनको समयमा आधा दर्जन जति चोरी तस्करीका घटना भएको जानकारी दिए।
चैत २७ गते नेपाली सेनासँगको संयुक्त गस्ती टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलबारीबाट काठ ओसारी रहेको रा १ त २३९५ नम्बरको ट्रयाक्टर र ट्रयाक्टर चालक गोपाल चौधरी पक्राउ गरेको छ।
चैत २६ गते बिहान घोराही उपमहानगरपालिका वडा नं. १ सिरूखर्कमा वनको गस्ती टोलीले चोरीको काठसहित शोभाराम महरालाई पक्राउ गरिसकेको छ।
काठ ओसार्न प्रयोग गरेको रा १ च ३९४१ नम्वरको ट्याक्टर समेत टोलिले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चैत २४ गते दंगिशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा वनकै पदाधिकारीहरुको मिलेमतोमा सिसौ र खयर जातका ५५ वटा रुखहरु काटेको पाइएपछि पदाधिकारीहरुलार्ई नियन्त्रणमा लिइएको छ ।
प्रवक्ता शर्मा अनुसार २३ गते गस्ति बबई गाउँपालिका वडा नं. ५ स्थित खयरभट्टी सिमगैरा सामुदायिक वनमा गस्ति टोलिले करिव दुई हेक्टर जमिनको वनलाई अतिक्रमण गर्ने नियतले लगाइएको फलफुल तथा नगदेवालीलाई हटाई पुन वन कायम गरेको छ ।
त्यस्तै चैत २२ गते घोराही १२ ज्यामिरे खोलाको भालुचिप्ला सामुदायिक वनमा गस्ति टोलिले सालको एउटा रुख काटेर चिरान गरि राखेको अवस्थामा गोलिया तथा चिरान काठ गरि करिव ११२ घन फिट काठ बरामद गर्यो । उक्त कार्यमा सम्लग्न चैत २७ गते पुर्णबहादुर रेउलेलाई पक्राउ गरि हिरासतमा राखेको छ ।
त्यस्तै वन समुहको गस्ति टोलिले चैत १० गते तुलसीपुर महानगरपालिका वडा नं. १८ को रानी सामुदायिक वनमा सालको दुई वटा रुख काटेर गोलिया ओसार्दै गरेको अवस्थामा घोराही उपमहानरपालिका वडा नं. १२ रतनपुर निवासी सुदन गिरी र उनको ट्रयाक्टर समेत नियन्त्रणमा लिएको छ ।
डिभिजनको गस्ती टोलिले गोलिया काठ थान १६ को परिमाण ११७ . २१ घन फिटसहित रा १ त ११७७ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
यो बीचमा वन पैदावार चोरी तस्करीका विभिन्न ६ वटा घटनामा भएका प्रबक्ता शर्माले जानकारी दिए ।