साइकोलोजिस्ट रोजिना मानन्धरलाई हिजोआज नयाँ खालका समस्या सुनाउनेहरू बढ्न थालेका छन्।
विगतमा समाधान भइसकेका मानिसका समस्यासमेत बल्झिएको उनको अनुभव छ।
रोजिनासहितका केही मनोवैज्ञानिकहरूको टिमले कोरोना भाइरसको डर भएका मानिसका लागि परामर्श दिइरहेको छ। काम नभइकन घरमै बसिरहेकाले विगतका कुरालाई सम्झिन थालेकाले मानसिक समस्या पनि थपिँदै गएको रोजिनाले बताइन्।
‘यो समयमा मानसिक समस्या हुनु सामान्य हो। मानिसहरू सबैमा कोरोना भाइरसकै चिन्ता छ,’ उनले भनिन्, ‘विभिन्न कारणले अस्पतालमा बसेका अनि संक्रमणबारे जानकार भएका अझै बढी आत्तिएका छन्।’
कहिलेकाहीँ अधिक जानकारी हुनु पनि मानसिक स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछिन्।
पहिलादेखि नै श्वासप्रश्वास, फोक्सो, कलेजो, मिर्गौलाको समस्या भएकालाई कोरोना संक्रमणको भयले गाँजिरहेको छ। त्यस्ता बिरामीको हेरचाह गर्न अस्पताल बसेका पनि बढी आत्तिएको उनले बताइन्।
अल्का अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ प्रदीप पाण्डेका अनुसार आफ्नो व्यापार र काम छोडेर बसेका मानिसहरूमा प्रेसर र सुगरको समस्या छ भने यस्तो बेलामा त्यो अझै बढनेछ।
'यो बेलामा मानिसहरूको व्यायाम गर्ने बानी हराउँछ। घरमा मात्रै बसिरहँदा तनाव हुन्छ। कहिलेकाहीँ त घर झगडासमेत हुन्छ,’ उनले भने, ‘कोरोनाको मात्रै समाचार हेरिरहँदा त्यसले कतिपय मानिसलाई निन्द्रा नलाग्ने र सपनामा पनि कोरोनाकै बारेमा देख्ने हुन्छ।'
यस्ता खालका समस्याहरू अहिले देखिनु स्वभाविक भएको पनि उनले बताए।
तर यसरी देखिने समस्या त्यत्तिकै छोडियो वा लुकाइयो भने त्यसले विकराल रूप लिन सक्नेतर्फ पनि उनले सचेत गराए।
यस्तो बेलामा आफ्ना कुरा जति धेरै अरूलाई भन्न सक्यो, एकअर्काको बीचमा जति धेरै कुराकानी भयो, त्यति नै मन हल्का हुने मनोवैज्ञानिकहरूको सुझाव छ।
‘यो बेलामा आफूलाई जोसँग कुराकानी गर्दा सहज हुन्छ त्यहीसँग आफ्ना कुरा भन्नुपर्छ। त्यो भनेको छोराछोरी, श्रीमान-श्रीमती, बाबुआमा परिवारका अन्य सदस्य तथा साथीभाइ जो पनि हुनसक्छ,’ साइकोलोजिस्ट रोजिनाले भनिन्, ‘युट्युब र गुगलमा अन्य सामग्री हेरेर पनि आफूलाई भुलाउन सकिन्छ।'
सबैभन्दा पहिला आफूलाई चिन्नु ठूलो कुरा भएको उनले बताइन्। उनका अनुसार जसले आफूलाई विगतमा के थिएँ, अहिले के भए भनेर सकारात्मक मूल्यांकन गर्न सक्छ उसलाई मानसिक समस्याले पिरोल्दैन।
केही गरी मानसिक समस्या र तनाव कायम रहे मनोवैज्ञानिक परामर्श लिनु पर्ने रोजिनाले सुझाव दिइन्।
मानिसहरूले कोरोनाबारे चाहिनेभन्दा बढी चासो लिएर पनि मानसिक समस्या भइरहेको मानसिक रोग विशेषज्ञ डाक्टर पाण्डेको अनुभव छ।
'कोरोनाबारे समाचार हेर्दा आधिकारिक स्रोतबाट आएका समाचारलाई मात्र ध्यान दिनुस्। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनजस्ता विश्वसनीय संस्थाका तथ्यांकलाई आधार बनाइएका र विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचार मात्रै पढ्नुस्,' पाण्डेले भने।
कुन मिडियाले दिएका समाचार तथ्यपरक हुन्छन् भन्ने छुट्टयाउन उनले आग्रह गरे।
‘विश्वका घटनाबारे जानकारी राख्न जरूरी छ तर जतिबेला पनि यसकै पछाडि लाग्नु भनेको रोग निम्त्याउनु मात्रै हो,’ उनले भने।
कोरोनाका कारण यति बिरामीको मृत्यु, यति नयाँ संक्रमित भेटिए भन्ने खालका मात्रै समाचार हेर्दा कतिलाई अब विश्व नै सकिन लाग्यो कि भनेर छटपटीसमेत हुने गरेको उनको अनुभव छ।
'इन्टरनेटमा हेर्ने विषयवस्तु धेरै छन्। आफ्नै घरमा बसेर रचनात्मक कामसमेत गर्न सकिन्छ। भान्छामा बसेर गर्ने काम धेरै हुन्छ। त्यसले पनि तपाईंको मन हल्का बनाउँछ,’ उनले भने,'ध्यान योग गर्नुस्। केटाकेटीसँग खेल्नुस्। समयमा खानुस्, समयमै सुत्नुस।’
बिहानदेखि बेलुकासम्मै कोरोनाबारे सूचना लिने र चिन्ता गर्ने काम बन्द गर्न पाण्डेले सुझाए।
‘यस्तो गरे तपाईंलाई थकाइ लाग्छ, निन्द्रा पर्दैन जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता समेत घट्छ,’ उनले भने।
सबैभन्दा बढी नकरात्मक सूचना लिने र त्यसकै पछाडि लाग्ने बानीलाई त्याग्न जरूरी रहेको उनले बताए।
साइकोलोजिस्ट रोजिना मानन्धरलाई भने मानसिक समस्याभन्दा पनि खानालाउनको समस्याले अफ्ठ्यारो पार्ने हो कि भन्ने चिन्ता थपिएको छ। किनकी यस्तो भयो भने काउन्सिलिङले केही हुने छैन।
'पहिला त मानिसलाई गास, बास, कपास चाहियो। त्यसपछि मात्रै काउन्सिलिङ हो। भोको पेटलाई काउन्सिलिङले केही गर्न सक्दैन,’ उनले भनिन् ‘ यो बेलामा समाजभित्रैबाट आफूभन्दा कमजोरहरूलाई सहयोग गर्ने हो।’
महामारीको समस्याले मानिसहरू एकअर्कासँग डराइरहेको उनले बताइन्। त्यसैले यसमा सरकारले कोही भोको नरहने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार न्यून आय भएका मानिसलाई कोरोनाको डर त्राससँगै मानिसलाई के खाने, के लाउने अनि कसरी बस्ने भन्ने समस्याले सताइहेको छ।
डर, त्रासबारे काउन्सिलिङ गर्न सकिने तर अभावका कारण भएको मानसिक समस्यालाई काउन्सिलिङले समाधान गर्न नसकिने उनले बताइन्।